अत्तरिया : कैलालीमा सेकुवा सेन्टरमा कार्यरत एक युवतीको चक्कु प्रहार गरेर हत्या गरिएको छ । बर्दगोरिया गाउँपालिका-१ मा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा कार्यरत बर्दगोरिया गाउँपालिका-३ कि १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले शनिबार बिहान करीब १० बजेतिर सेजवालमाथि सोही सेकुवा एण्ड मस्म सेन्टरमा काम गर्ने बर्दगोरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेको बताए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए । सेजवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिनेछ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चक्कु प्रहार गर्नुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।