क्यान्सर रोगमा उपयोगी लौठसल्लाको संरक्षण

बैतडी : क्यान्सर रोगसँग लड्न प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन निस्कने लौठसल्लाको संरक्षण गरिएको छ । लौठसल्ला मासिन थालेपछि वनस्पति विभाग र जिल्ला वन कार्यालय बैतडीले १३९ बोट वरिपरि काँडेतारको बार लगाएर संरक्षण गरेको हो । विश्वमै निकै महँगो औषधीका रूपमा प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन लौठसल्ला प्रशोधन गरेर निकाल्न सकिने बताइएको छ । पछिल्लो समय डोजरले जथाभाबी सडक निर्माण गर्दा यो प्रजाति सङ्कटमा पर्न थालेको छ ।

लौठसल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर निको पार्ने औषधी बन्ने गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए ।

बैतडीको ग्वाल्लेक र सिगास संरक्षित वनमा पाइने लौठसल्लाबाट क्यान्सर रोगविरुद्ध लड्ने रासायनिक तìवका लागि महìवपूर्ण भएकाले बिरुवा संरक्षण गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए । स्थानीय तहले जथाभाबी सडक खन्दा वन क्षेत्र मासिन थालेपछि पुरचौडी नगरपालिका–६, ढोल्यामोडमा रहेको वसन्त हरियाली वनमा रहेको लौठसल्ला रहेको चार हेक्टर वन क्षेत्रमा तारबार लगाएर संरक्षण गरिएको उनले बताए।

ढोल्यामोडमा ८८ वटा पोलमा काँडेतार लगाएर ८० वटा लाथ्रा र ५९ वटा लौठसल्लाका बिरुवा जोगाइएका छन् । बैतडीको सिगास संरक्षित वन, ग्वाल्लेक संरक्षित वन, सुर्नया गाउँपालिकाका केही स्थानमा लौठसल्ला रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।

वनस्पति अनुसन्धान केन्द्र कैलालीले लौठसल्लाबारे अनुसन्धान गर्दा प्रदेशका कैलाली र कञ्चनपुरबाहेक पहाडका सात वटै जिल्लामा लौठसल्ला फेला पारेको छ ।

वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत भट्टका अनुसार बैतडीको ग्वाल्लेक, सिगास, रौलाकेदार, श्रीभावर, ढोल्यामोड, दार्चुलाको सितोला, बाजुराको शुर्मासरोवर र काणेँ, डडेलधुरको कफालीडाँडा, डोटीको सालिङडाँडा र खप्पड क्षेत्रमा लौठसल्ला रहेको छ ।

वैज्ञानिक भट्टले लौठसल्लाबाट ‘ट्याक्सोल’ नामको रसायन निकाल्न नेपालमै कच्चा पदार्थ (१० डिएबी) तयार गरेर क्यान्सरविरुद्धको किमो तयार गर्न विदेश पठाइने गरेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.