काठमाण्डौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । योसँगै फाइनलमा हार व्यहोरेको सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो ।
जवाफी ब्याटिङ गरेको लुम्बिनीले ८६ रनको लक्ष्य नवौँ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । योसँगै लुम्बिनीले ६ विकेटकको शानदार जित निकाल्दै उपाधि जित्न सफल भएको छ ।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा ४२ रनको पारी खेले । अर्का ओपनर डार्सी शटले १३ बलमा १४ रनको योगदान गरे भने नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए । त्यसैगरी कप्तान रोहित पौडेलले १२ बलमा १६ रन बनाए । सन्दिप जोरा भने शून्य रनमा आउट भए ।
लुम्बिनीका लागि अर्का नटआउट दिलिप नाथले १ रन बनाए । लुम्बिनीले २ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । सुदूरका लागि हेमन्त धामीको नाममा २ र अविनाश बोहराको नाममा १ विकेट रह्यो ।
खराब प्रदर्शनले गुम्यो उपाधि जित्ने अवसर
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४ बलअगावै ८५ रन बनाउँदा अलआउट भयो । अहिलेको एनपीएलमा बनेको यो सबैभन्दा कम योगफल हो ।
लगातार दोस्रो पटक उपाधि नजिक पुगेको सुदूरपश्चिम उपाधि उचाल्न चाहे पनि भाग्यले साथ दिएन । फाइनलमा सुदूरपश्चिमले सिजनकै खराब प्रदर्शन ग¥यो । सुदूरपश्चिमले पावर प्लेमा ३ विकेट गुमाएर मात्र २० रन बनाएको थियो । सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए ।
रोहितले एघारौँ ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई १३ रन बनाउँदा रुबेन ट्रम्पलम्यानको हातबाट क्याच आउट गराए । सोही ओभरको पाँचौँ बलमा दीपक बोहोरालाई शून्य रनमा नै सन्दीप जोराको हातबाट क्याच आउट गराए । अन्तिम बलमा पुनित मेहरालाई शून्य रनमा एलबीडब्लु धरापमा पार्दै ह्याट्रिक विकेट लिए ।
जारी एनपीएलमा ह्याट्रिक विकेट लिने रोहित दोस्रो खेलाडी हुन् । यसअघि काठमाडौंका साहब आलमले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट झारेका थिए ।
खेलमा शेर मल्लले तीन विकेट आफ्नो नाममा गरे । उनले सुदूरपश्चिमका आरिफ शेख, हरमित सिंह र ईशान पाण्डेलाई आउट गरे । रुवेनले तिन विकेट आफ्नो नाममा गरे। रुवेनले पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई शुन्य रनमा नै पेभेलियनको बाटो देखाए । तेस्रो ओभरको तेस्रो बलमा सेल्डन ज्याक्सनलाई एक रन बनाउँदा एलबीडब्लू धरापमा पारे। तिलक भण्डारीले एक विकेट झारे ।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले ५१ बलमा १ चौका सहयोगमा बनाएको ३३ रन नै सर्वाधिक रह्यो । कप्तान ऐरीले १३ र हरमित सिंह र स्कट कुग्लेजिनले समान १० रन थपे । अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।