अत्तरिया : छिमेकी राष्ट्र भारतको देहरादूनस्थित हिन्दू नेशनल इन्टर कलेजमा आयोजना हुने नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागिता जनाउन नेपालको सुदूरपश्चिम प्रदेशबाट खेलाडी सहित २७ सदस्यीय टोली भारत प्रस्थान गरेको छ।
शुक्रबार कैलालीको अत्तरिया स्थित एभरेष्ट एकेडेमीको मैदानबाट उक्त टोलीलाई औपचारिक रूपमा सफलताको शुभकामना सहित विदाइ गरिएको हो। प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाट २३ जना कराँते खेलाडी, एक जना प्रशिक्षक, एक जना टिम म्यानेजर तथा रेफ्री डम्बर साउँद सहित जम्मा २७ जनाको टोली भारततर्फ प्रस्थान गरेको हो।
कैलाली जिल्ला कराँते संघका सचिव तेज नागरीले उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहने भएको जसले सुदूरपश्चिम प्रदेशका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको बताए।