अत्तरिया : कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज दर्शकका लागि विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। आज आइतबार चर्चित गायक, डान्सर तथा र्यापरहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।
आइतबार र्यापर जी बबसँगै लोकप्रिय गायक हिमाल सागर, गायिका भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। विविध विधाका कलाकारहरूको प्रस्तुति रहने भएकाले महोत्सव स्थलमा दर्शकको उल्लेख्य भीड लाग्ने अपेक्षा गरिएको छ।
यसअघि शनिवार प्रस्तुति दिने भनिएका र्यापर जी बब प्रतिकूल मौसमका कारण विमानस्थलमा फ्लाइट ल्यान्डिङ हुन नसक्दा कार्यक्रममा सहभागी हुन सकेका थिएनन्। आयोजकका अनुसार स्थगित भएको उनको प्रस्तुति आज आइतबार नै हुने निश्चित भएको छ।
पौष ९ गतेदेखि सुरु भएको सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा सुरुदेखि नै दर्शकको उत्साहजनक सहभागिता देखिएको छ। शनिवार पनि महोत्सव स्थल दर्शकले भरिभराउ भएको थियो। महोत्सवले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्नुका साथै मनोरञ्जनसँगै सामाजिक तथा सांस्कृतिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ।