भाषण होइन, अब समाधान चाहिएको छ

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी सरगर्मी बढेको छ । कैलाली क्षेत्र नम्बर ४ पनि यसबाट अछुतो छैन । यहाँ झण्डै तीन दर्जन उम्मेदवारहरू मतदाता समक्ष पुगिरहेका छन् । भाषण र प्रतिबद्धताका वर्षा भइरहेका छन् । तर मतदाताको अपेक्षा भने फेरि उही पुरानै भाषण सुन्ने होइन, वर्षौंदेखि जटिल बन्दै गएका स्थानीय समस्याको ठोस समाधान हो ।

निर्वाचनमा ठूला दलहरुको मात्र बढी चर्चा हुन्छ । तर, मतदाताहरुको नजरमा सबै दलहरु उत्तिकै हुन् । गोदावरी र गौरीगंगा क्षेत्रका समस्या अब लुकाउने वा टार्ने विषय रहेनन् । गोदावरीमा सुकुम्बासी समस्या गम्भीर रूपमा जरा गाडेर बसेको छ । योजना विहीन बसोबास, अव्यवस्थित आर्यघाट, सार्वजनिक खुला स्थानको अभाव र खेलकुद पूर्वाधार नहुँदा यहाँका युवा पुस्ता निराश बन्न बाध्य छन् । मुख्य सडकको दयनीय अवस्था विकासको भाषणसँग ठाडो विरोधाभास बनेको छ ।
यस क्षेत्र चुरेसँग जोडिएको संवेदनशील भू–भाग हो । अव्यवस्थित विकास, वन विनाश र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले भविष्यमा अझ ठूलो संकट निम्त्याउन सक्छ । यसतर्फ विगतका जनप्रतिनिधिहरूले भाषण त धेरै गरे, तर दीर्घकालीन समाधानमा केन्द्रित हुन सकेनन् । परिणामतः समस्या जस्ताको तस्तै छन्, कतिपय झन् जटिल बनेका छन् ।

अब फेरि निर्वाचन आएको छ । उम्मेदवारहरूबाट सुन्न चाहिएको कुरा खोक्रा आश्वासन होइन, स्पष्ट योजना र प्रतिबद्धता हो । सुकुम्बासी समस्या कसरी समाधान गर्ने ? व्यवस्थित आर्यघाट कहिले र कसरी बन्छ ? खुला स्थान र खेलकुद पूर्वाधारका लागि के योजना छ ? मुख्य सडकको अवस्था सुधार्ने ठोस समयसीमा के हो ? चुरे संरक्षणका लागि के कदम चालिन्छ ? यी प्रश्नहरूको जवाफ मतदाताले खोजिरहेका छन् ।
अव्यवस्थित बसोबासको मुद्धा कति सरकार आए । कसैले पनि पुरा गर्न सकेको छैन । कति बर्ष भए । सुरुवात भएको कति बर्ष भए त्यसको कुनै लेखाजोखा नै छैन ।

कैलाली क्षेत्र नम्बर ४ का सबै उम्मेदवारहरूले व्यक्तिगत राजनीतिक स्वार्थभन्दा माथि उठेर साझा समस्यामा साझा प्रतिबद्धता जनाउन आवश्यक छ । विकास नारामा होइन, काममा देखिनुपर्छ । यसपटक मतदाताले पनि भाषणभन्दा समाधान खोज्ने उम्मेदवार चिन्ने जिम्मेवारी लिनु जरुरी छ । यही नै लोकतन्त्रको सही अभ्यास र क्षेत्रको समृद्धिको आधार हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.