धनगढी : अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा पहिलो पटक मम महोत्सव आयोजना हुने भएको छ। नेपालको हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज धनगढीले स्थानीय स्वाद र नेपालीहरूको लोकप्रिय खाजा ममको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागेको हो।
सिद्धार्थ कटेज केवल रेस्टुरेन्ट मात्र नभई पारिवारिक मनोरञ्जन र विलासिताको केन्द्रका रूपमा परिचित छ। यहाँ लक्जरी रेस्टुरेन्ट, प्राइभेट डाइनिङ, शान्त पारिवारिक वातावरणमा स्वादिष्ट भोजन, स्विमिङ पुल तथा वाटर फन पार्कका साथै सभा–समारोह, तालिम तथा उत्सवका लागि अत्याधुनिक हलहरूको सुविधा उपलब्ध रहेको छ।
यसअघि सिद्धार्थ कटेजले नेपालगञ्जमा २०८० सालदेखि निरन्तर रूपमा मम फेस्टिभल आयोजना गर्दै आएको छ। चौथो संस्करणसम्म आइपुग्दा २०० भन्दा बढी प्रकारका मम परिकारहरू प्रस्तुत गरिसकेको अनुभवलाई समेट्दै, धनगढीमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा पनि २०० भन्दा बढी प्रकारका मम परिकारहरूको स्वाद लिन पाइने आयोजकले जनाएको छ।
महोत्सवमा ममका विभिन्न परिकारहरूसँगै सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू समेत रहनेछन्। स्थानीय पहिचान झल्काउने परिकारहरू, परम्परागत स्वाद र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यी स्टलहरू राखिने बताइएको छ।
तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ। तेस्रो तथा अन्तिम दिन भने सांस्कृतिक कार्यक्रमसँगै मम मेकिङ तथा कुकिङ कम्पिटिसन आयोजना गरिनेछ, जसले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
हाल सिद्धार्थ ग्रुपले देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३२ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। स्थानीय उत्पादन र स्वादको प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको यस मम महोत्सवमा सहभागी भई विविध स्वाद, संस्कृति र मनोरञ्जनको आनन्द लिन सिद्धार्थ कटेज धनगढीले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।