किड्स जोनमा म्युजिकल ड्रिलको उत्सव, सत्यवती एकेडेमी प्रथम

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा अवस्थित किड्स जोन एकेडेमीले सहिद दिवसको अवसर पारेर अन्तरविद्यालयस्तरीय म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गरेको छ । शुक्रबार सम्पन्न एकदिने प्रतियोगितामा अत्तरिया क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले देशभक्ति गीतको तालमा अनुशासित ड्रिल र नृत्य प्रस्तुत गर्दै राष्ट्रप्रेम, समन्वय र टिमवर्कको सन्देश दिएका थिए । दर्शक तथा अभिभावकको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न प्रतियोगिताले शैक्षिक गतिविधिसँगै सिर्जनशीलता र शारीरिक सक्रियतालाई पनि प्रोत्साहन गरेको देखियो ।

किड्स जोन एकेडेमीका सञ्चालक मदन जोशीका अनुसार प्रतियोगितामा सत्यवती एकेडेमी प्रथम भएको छ । खप्तड विद्या निकेतनले दोस्रो स्थान हासिल गर्दा लोटस आई माध्यमिक विद्यालय तेस्रो स्थानमा सीमित भएको थियो । विजेता विद्यालयहरूलाई एक कार्यक्रमबीच नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्रथम हुने सत्यवती एकेडेमीले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । दोस्रो स्थानमा रहेको खप्तड विद्या निकेतनले नगद ६ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गरेको लोटस आई माविले नगद ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको जोशीले जानकारी दिए ।
प्रतियोगितामा १० वटा विद्यालय सहभागी रहेका थिए भने आयोजक किड्स जोन एकेडेमी स्वयं सहभागी थिएन । विद्यार्थीहरूमा अनुशासन, सहकार्य, राष्ट्रप्रेम र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जोशीको भनाइ छ ।

किड्स जोन एकेडेमीले सहिद दिवसको अवसरमा हरेक वर्ष यस्ता सिर्जनशील प्रतियोगिता आयोजना गर्दै आएको छ । यसले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउनुका साथै राष्ट्रप्रतिको भावना अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.