हरैयामा राना थारु संस्कृति जगेर्ना गर्दै सांस्कृतिक महोत्सव सुरु

अत्तरिया : गोदावरी नगरपालिका–७ स्थित हरैयामा माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु भएको छ । शुक्रबार देखि महोत्सव सुरु भएको हो ।
गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी नगर भलमन्सा (बरघर) समितिले आयोजना गरेको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । थारु तथा राना थारु समुदायको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरणलाई केन्द्रमा राख्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गरेका हुन् । उद्घाटन समारोहमा नगरउपप्रमुख शारदा देवी रोकाया, वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवक्ता गोपाल दत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल, वडा नं. ७ की वडाध्यक्ष कलावती साउँद लगायत जनप्रतिनिधि, समाजसेवी र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
गोदावरी नगर भलमन्सा समितिका अध्यक्ष मान बहादुर चौधरीका अनुसार पुर्खादेखि चल्दै आएका थारु र राना थारु समुदायका चालचलन, रहनसहन, लोककला र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले माघी मिलन कार्यक्रम आयोजना गरिएको हो । “संस्कृतिको संरक्षणसँगै पहिचानको हस्तान्तरण हाम्रो प्राथमिकता हो,” उनले भने ।

गोदावरी–७ स्थित थारु संग्रहालय परिसरमा सञ्चालन भइरहेको सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विविध कला–संस्कृतिको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम, परम्परागत नृत्य र सांस्कृतिक झाँकी प्रदर्शन समावेश छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा हरैया गाउँ समाजले लिएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बिरेन्द्र भट्टले माघीलाई समुदायको एकता, पहिचान र समृद्धिको प्रतीकका रूपमा व्याख्या गर्दै स्थानीय संस्कृतिको संरक्षणमा नगरपालिकाको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे । १८ गतेसम्म चल्ने यो सांस्कृतिक कार्यक्रमले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
साथै पालिकाले राना थारु समुदायको कला संस्कृती जोगेर्ना गर्नका लागि दिदै आएको रकमका लागि पालिका भित्र रहेका भलमन्सा, बडघर हरु एक भएर आउन आग्रह गरेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.