प्रभावकारी बन्दै गोदावरी–१० मा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’ले आफ्नो वडाभित्रका विद्यार्थीको शैक्षिक गुणस्तर सुधारसँगै व्यवहारिक ज्ञानको विकास गर्ने उद्देश्यसहित सुरु गरेको बुक फ्रि फ्राइडे कार्यक्रम प्रभावकारी बन्दै गएको छ। २०८१ सालदेखि नमुना अभ्यासका रूपमा जानकी माध्यमिक विद्यालयबाट सुरु गरिएको यो कार्यक्रम अहिले वडाको शैक्षिक पहिचानकै रूपमा स्थापित हुँदै गएको छ।

बुक फ्रि फ्राइडे कार्यक्रम अन्तर्गत हरेक हप्ताको शुक्रबारको दिन एक दिन विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरका सिर्जनात्मक, व्यवहारिक र जीवनोपयोगी गतिविधिमा सहभागी गराइन्छ। पढाइसँगै आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गर्ने अवसर पाएपछि विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा सक्रिय हुन थालेका छन्। यसले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र समूहमा काम गर्ने संस्कार विकास गर्न सहयोग पुगेको विद्यालय पक्षको भनाइ छ।

कार्यक्रमको सकारात्मक प्रभाव विद्यार्थी मात्र नभई शिक्षक र अभिभावकस्तरसम्म देखिन थालेपछि गोदावरी नगरपालिका वडा नं. १० ले आर्थिक वर्ष २०८२\०८३ का लागि वडाभित्रका चारवटै विद्यालयमा बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गर्न बजेटसहित व्यवस्था गरेको छ। यससँगै कार्यक्रम वडा तहबाट संस्थागत रूपमा विस्तार गरिएको छ।

यस पालिका भित्र रहेका धेरै सामुदायिक विद्यालय बन्द रहेको अवस्थामा पनि वडा नं. १० भित्रका सामुदायिक विद्यालयहरूले बुक फ्रि फ्राइडे कार्यक्रममार्फत ८५औँ शहिद दिवस समेत मनाएका छन्। विद्यार्थीहरूले शहिदप्रति समर्पित कविता, चित्रकला, वक्तृत्वकला तथा सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई अर्थपूर्ण बनाएका थिए।

वडा अध्यक्ष शाहीले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन नहुने भन्दै व्यवहारिक, सिर्जनात्मक र जीवनसँग जोडिएको शिक्षा आवश्यक रहेको बताएका छन्। “विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवन जिउन सक्ने सीप दिनु नै हाम्रो लक्ष्य हो,” उनले भने। यस पहलले गोदावरी–१० लाई व्यवहारिक शिक्षाको नमुना वडा बनाउने दिशामा अघि बढाएको स्थानीयको विश्वास छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.