फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन नियमित परिस्थितिभन्दा फरक र केही विषम अवस्थामा हुँदैछ । यस्तो संवेदनशील समयमा निर्वाचन प्रक्रियामा संलग्न सबै पक्ष—राजनीतिक दल, उम्मेदवार र मतदाता—सबैको भूमिका अझै जिम्मेवार र संयमित हुन जरुरी छ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, र यसको सफलता नागरिकको चेतना र निष्पक्ष व्यवहारमा निर्भर गर्दछ ।
मतदान नागरिकको मौलिक अधिकार हो । यो अधिकार कुनै डर, त्रास, दबाब वा लोभमा प्रयोग गरिनु हुँदैन । स्वतन्त्र र विवेकपूर्ण रूपमा मत प्रयोग गर्नु नै लोकतान्त्रिक संस्कृतिको परिचायक हो । कुनै दल, उम्मेदवार वा समूहको प्रभावमा परेर होइन, देश र समाजको समग्र हितलाई ध्यानमा राखेर मतदान गर्नु आजको आवश्यकता हो ।
अहिले निर्वाचन प्रचारका क्रममा विभिन्न मञ्चमा नेताहरूको आलोचना र गालीगलौज व्यापक रूपमा सुनिन्छ । आलोचना लोकतन्त्रको सुन्दर पक्ष भए पनि केवल गालीमा सीमित हुनु समाधान होइन । नेताहरूलाई प्रश्न गर्नु जति आवश्यक छ, त्यति नै आवश्यक मतदाताले पनि आत्मसमीक्षा गर्नु हो । स्वार्थरहित, निष्पक्ष र जिम्मेवार मतदान नगरी राजनीति भित्रको फोहोर हटाउने अपेक्षा गर्नु केवल भ्रम मात्र हुनेछ ।
अर्को गम्भीर पक्ष निर्वाचन खर्चसँग जोडिएको छ । मतदाताले उम्मेदवारहरूलाई अनावश्यक आर्थिक भार पार्ने प्रवृत्तिले राजनीति झन् महँगो र अपारदर्शी बन्दै गएको छ । निर्वाचनका बेला आर्थिक दबाब सिर्जना गर्ने तर पछि गएर इमान्दार नेतृत्वको अपेक्षा गर्नु आफैंमा विरोधाभास हो । सादा, खर्चरहित र मर्यादित निर्वाचन नै स्वच्छ राजनीतितर्फको पहिलो पाइला हो ।
यो निर्वाचन कुनै एक दल वा उम्मेदवारको जित–हारभन्दा पनि लोकतान्त्रिक मूल्य र संस्कृतिको परीक्षा हो । पार्टीको झण्डाभन्दा माथि उठेर इमान्दारिता, क्षमता र निष्ठालाई आधार मानेर मतदान गर्नु आजको आवश्यकता हो । राजनीति सुधार्ने जिम्मेवारी केवल नेताहरूको मात्र होइन, मतदाताका रूपमा हामी सबैको हातमा छ । सजग, सचेत र जिम्मेवार नागरिकले मात्र स्वस्थ लोकतन्त्र निर्माण गर्न सक्छन् । फागुन २१ को निर्वाचनलाई हामी सबैले संयम, विवेक र देशप्रतिको दायित्वका साथ सफल बनाउनु आजको साझा जिम्मेवारी हो ।