बैतडी : बैतडीमा निर्वाचन सुरक्षामा खटिएका अर्का एक प्रहरीको मृत्यु भएको छ। सोमबार मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को निधन भएसँगै हालसम्म ज्यान गुमाउने निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ड्युटी सकेर घर फर्किएपछि एक्कासी बेहोस भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। तर उपचारका क्रममा मध्यराति १२ : ०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय महादेव वड घरमै अचेत भई निधन भएका थिए। त्यस्तै, माघ २० गते सोही वडाका ३२ वर्षीय प्रकाश चन्द तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएका थिए। लगातार भएका यी घटनाले बैतडीमा शोकको वातावरण छाएको छ।