धनगढी : कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चैत २५ गते विश्वविद्यालय सभाको बैठक बस्दै छ । यसअघिका दुई विश्वविद्यालय सभाको बैठक संघीय राजधानीमा बसेकोमा पहिलो पटक गेटामै सभाको बैठक बोलाइएको छ । बैठकमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली, कार्यविधि पास गर्ने तयारी छ ।
उक्त सभाको अध्यक्षता विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री हुने व्यवस्था अनुसार शिक्षामन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ । विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी गरिएको बताइए पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वय समितिले भने यसको सुनिश्चितता खोजेको छ ।
विगतदेखि विश्वविद्यालय स्थापनका लागि सघंर्ष गर्दै आएको समितिले आगामी शैक्षिक सत्र देखि एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको सुनिश्चितका लागि पहल गर्ने भएको छ । आइतबार बसेको समन्वयन समितिको बैठकले चैत २५ गते बस्ने विश्वविद्यालय सभाको बैठकलाई लक्षित गर्दै आफ्नो एमबिबिएस पठाइको सुनिश्चितताका लागि पहल गर्ने, विश्वविद्यालय परिसरमा सहिद दशरथ चन्दको सालिक सहितको पार्क निर्माणका लागि माग गर्ने लगायतका निर्णय गरेको छ ।
समन्वय समितिका सहसंयोजक आनन्द भट्टले चैत्र २५ गते बैठकमा समन्वयन समितिका सरोकारका विषय, स्थानीयका सरोकारका विषयहरूलाई मुखरित गर्नको लागि योजना बनाइएको बताए ।
समन्वय समितिका सदस्य विनोद विष्टले आगामी दिनमा समन्वय समितिले के कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गर्ने तयारी भएको बताए । उनले विश्वविद्यालय सञ्चालनका लागि २ अर्ब ५८ करोड रुपैयाँ प्रस्ताव गरिएकोमा उक्त रकमको सुनिश्चितका लागि पनि पहल गरिने बताए । सहिद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालय २०८२ ऐन पास गरेपछि हाल सोही ऐन अनुसार उपकुलपति रजिस्ट्रार लगायत पदाधिकारी नियुक्त गरेको छ ।
पदाधिकारीहरूले आगामी शैक्षिक सत्रबाट ४ वटा विषयमा अध्यापन गराउने गरी तयारी थालेका छन् । शैक्षिक कार्यक्रम सञ्चालनका लागि न्यूनतम ३०० बेडको अस्पताल सञ्चालन गरेको तीन वर्ष पूरा हुनुपर्ने कानुनी प्रावधान भएकाले त्यसका लागि सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताल आबद्ध गर्ने तयारी गरिएको छ ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि ७७ जना शिक्षकका लागि दरखास्त आह्वान समेत गरिएको थियो । जसमा ३०४ जनाले दरखास्त दिएका छन् । वैशाखमा छनोट प्रक्रिया थालिने जनाइएको छ ।