धनगढी : कैलाली बहुमुखी क्याम्पसका प्रमुख लोकराज बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । क्याम्पसका केही प्राध्यापकहरूले क्याम्पस प्रमुख बिष्टले पदको दुरुपयोग गर्दै मनोमानी निर्णय गरेको आरोप लगाएका छन् ।
उजुरीमा राजनीतिक प्रभावका आधारमा क्याम्पस प्रमुख बनेका बिष्टले आफ्नो अधिकारको दुरुपयोग गरेको उल्लेख गरिएको छ । विशेषगरी, सहायक क्याम्पस प्रमुख नियुक्तिमा नियम मिचिएको आरोप लगाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको निर्णय अनुसार ‘ए’ ग्रेडमा रहेको क्याम्पसमा दुई जना मात्रै सहायक क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि बिष्टले तीन जनालाई उक्त पदमा नियुक्त गरेको आरोप छ ।
उजुरी अनुसार क्रमसंख्या २० मा रहेका सहप्राध्यापक मोहनसिंह साउँद, क्रमसंख्या २१ मा रहेका सहप्राध्यापक शिवप्रसाद सापकोटा र क्रमसंख्या ४५ मा रहेका उपप्राध्यापक धनश्याम भट्टलाई सहायक क्याम्पस प्रमुख बनाइएको छ ।
यस क्रममा शैक्षिक योग्यता र वरिष्ठताको बेवास्ता गरिएको तथा जुनियरलाई प्राथमिकता दिइएको आरोपसमेत लगाइएको छ । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन अघि बढाउने जनाइएको छ ।