अत्तरिया : सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक आज (बुधबार) बस्ने भएको छ । बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा आयोजना हुने भएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा. सुनिलकुमार जोशीका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यसअघिका तीन सभा (सिनेट) बैठकहरू सङ्घीय राजधानीमा भएकोमा, यस पटक पहिलोपटक विश्वविद्यालयकै परिसरमा बैठक बोलाइएको हो ।
बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिहरूको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीजस्ता विषयमा छलफल हुने उपकुलपति जोशीले बताए ।
त्यसैगरी, विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको शिक्षण अस्पताललाई भविष्यमा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा पनि बैठकमा विचार गरिने छ । बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा सचिव, स्वास्थ्य सचिव, चिकित्सक शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मुख्यमन्त्री लगायत १७ जनाको सहभागिता रहने छ । सभाको अध्यक्षता विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीले गर्ने व्यवस्था गरिएको छ ।
विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी भइरहेको छ । हाल गेटा विश्वविद्यालय सञ्चालनको पर्खाइमा छ । स्थानीयहरु सरकारले देखाएको अग्रसताप्रति हौसिएका छन् ।