कांग्रेसको ‘जरा अभियान’ सुरु

काठमाडौं  : नेपाली कांग्रेसले १५ औं महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी रूपमा क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ । ‘जरा अभियान’ नाम दिइएको यो कार्यक्रम अन्तर्गत पार्टीले सम्बन्धित वडामै पुगेर सदस्यता नवीकरण गर्ने नीति अपनाएको छ ।

अभियानको सुरुवात सभापति गगन थापाले काठमाडौं–३० स्थित वडा कार्यसमितिको कार्यालयमा आफ्नै सदस्यता अद्यावधिक गरेर गरेका हुन् । महामन्त्री गुरुराज घिमिरेका अनुसार विशेष कारण बाहेक सबै सदस्यले आफ्नै वडाबाटै सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।
कांग्रेसले विगतमा रहेको करिब ९ लाख सदस्यताको तथ्यांकलाई अद्यावधिक गरी वास्तविक सक्रिय सदस्यको पहिचान गर्ने लक्ष्य राखेको छ । हालैको निर्वाचनमा केही क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत प्राप्त भएको सन्दर्भमा सदस्यता व्यवस्थापनमा सुधार आवश्यक देखिएको पार्टीको निष्कर्ष छ ।

अभियानसँगै सदस्यहरूको ‘बायोमेट्रिक’ विवरण संकलन गरी ‘कांग्रेस आईडी’ बनाउने योजना पनि अघि सारिएको छ । यसले भविष्यमा पार्टीका उम्मेदवार छनोट प्रक्रिया, विशेष गरी प्राइमरी इलेक्सन प्रणालीलाई व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
यद्यपि, यो अभियानलाई लिएर पार्टीभित्र विवाद पनि चर्किएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुराना सदस्यता खारेज गर्ने प्रयास भएको आरोप लगाउँदै विरोध जनाएका छन् । उनले पार्टीको लेटरहेड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले अनुशासन उल्लंघनको आरोप लगाउँदै कारबाहीको तयारी थालेको छ ।

महामन्त्री घिमिरेले भने पुराना सदस्यता खारेज नभई केवल अद्यावधिक गरिने स्पष्ट पार्दै पार्टीको अनुशासनविपरीत गतिविधिमा अब सहनशीलता नरहने चेतावनी दिएका छन् । सदस्यता अद्यावधिक अभियान वैशाख मसान्तसम्म चल्नेछ। त्यसपछि वडा, पालिका, प्रदेश हुँदै केन्द्रीय महाधिवेशन असोज १६–१९ मा सम्पन्न गर्ने तालिका सार्वजनिक गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.