धनगढीमा कुकुरको विषयमा भएको विवादले ५६ बर्षीय पुरुषको ज्यान गयो

धनगढी  : धनगढी–१ लक्ष्मीनगरमा कुकुरसँग सम्बन्धित सामान्य विवादले गम्भीर रूप लिँदै एक व्यक्तिको ज्यान गएको घटना सार्वजनिक भएको छ। ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि यो घटना ‘हत्या कि दुर्घटना’ भन्ने प्रश्नमा विभाजित भएको छ।

घटनामा छिमेकी महेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक चौधरीका परिवारजनले योजनाबद्ध रूपमा घरमा बोलाएर कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। तर, श्रेष्ठ पक्षले भने सिढीबाट लड्दा दुर्घटनावश मृत्यु भएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ।

स्थानीयका अनुसार विवादको सुरुवात कुकुरको विषयबाट भएको हो। श्रेष्ठको कुकुर मरेपछि त्यसको दोष चौधरीमाथि लगाइएको थियो। यही विषयलाई लिएर राति दुई पटक बोलाउन गएको र दोस्रो पटक चौधरीलाई घर लगिएको घटनाले थप शंका उत्पन्न गरेको छ।

मृतकका आफन्तले शरीरमा चोटपटक देखिएको र बेहोस अवस्थामा फेला परेको भन्दै कुटपिटको आशंका व्यक्त गरेका छन्। यद्यपि आरोपित पक्षले कुकुर हेरेर फर्कने क्रममा लडेर घाइते भएको दाबी गर्दै कुटपिटको आरोप अस्वीकार गरेको छ।

घटनापछि चौधरीलाई अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता प्रस्ट हुने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार श्रेष्ठलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ भने पीडित परिवार किटानी जाहेरी दिने तयारीमा छ।

मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका शान्त स्वभावका चौधरीको मृत्युले परिवारमा गहिरो शोक र आर्थिक संकट निम्त्याएको छ। सामान्य विवादबाट सुरु भएको यो घटना अहिले समाजमा हिंसा र सहअस्तित्वबारे गम्भीर प्रश्न उठाउने विषय बनेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.