भीमदत्त नगरपालिकाको नाम महेन्द्रनगर माग्दै कञ्चनपुरमा हस्ताक्षर अभियान

धनगढी । गणतन्त्र स्थापना पछि कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका राखिएको विषय फेरि विवादमा तानिएको छ। स्थानीय युवाहरूले पुरानै “महेन्द्रनगर नगरपालिका” नाम पुनःस्थापना गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।

महेन्द्रनगरका सुजित श्रेष्ठ र अमृतकुमार जोशी लगायत युवाहरूको अगुवाइमा सञ्चालन गरिएको अभियान आइतबारदेखि औपचारिक रूपमा सुरु भएको हो। अभियानमार्फत स्थानीय बासिन्दाको समर्थन संकलन गरी नाम पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन्।

अभियान एक महिनासम्म सञ्चालन हुने जनाइएको छ। यस अवधिमा संकलित हस्ताक्षरहरू सङ्घीय सरकारसमक्ष पेश गरिने तयारी छ।

नाम परिवर्तनले स्थानीय पहिचान र ऐतिहासिक महत्व ओझेलमा परेको दाबी गर्दै युवाहरूले पुरानो नाम पुनःस्थापना गर्नुपर्ने धारणा राखेका छन्।

स्थानीय तहको नाम परिवर्तनको विषय पछिल्लो समय पुनः बहसको केन्द्रमा रहँदै आएको छ। यस अभियानले उक्त बहसलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.