कैलालीमा नै डोकोमै बिरामि अस्पताल लैजाने पर्ने बाध्यता

अत्तरिया : पिठ्युँमा डोको र टाउकोमा नाम्लो । पसिनाले निथ्रुक्क भिजेको शरीर । निथ्रुक्क भिजेको पिठ्युँमा रोगले थला परेको अर्को शरीर छ । टाउकोको नाम्लो र पिठ्युँको डोकोको सहारामा बोकेर करिब साढे २ घण्टा लाग्ने दूरी पार गर्नुपर्ने बाध्यता छ ।

यो कुनै फिल्म वा नाटकको दृश्य होइन । बरु एक दम्पतीले बाँचिरहेको बाध्यात्मक जीवनकथा हो । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाका कम्माने दमाईले यस्तै पीडामा बाँच्नुपरेको छ । श्रीमती जमुना दमाई (४५) को मधुमेहले खुट्टा सुन्निएपछि उनलाई डोकोमै बोकेर सडकसम्म र त्यहाँबाट अस्पताल लैजानु कम्मानेको दैनिकी बनेको छ । दुई वर्षअघि मधुमेह रोग पहिचान भएको जमुनाको स्वास्थ्य अवस्था पछिल्लो समय निकै बिग्रिएको छ ।

सुन्निएको खुट्टा, सङ्क्रमण र घाउले जमुनालाई हिँडडुल गर्नै नसक्ने बनाएपछि उपचारका लागि श्रीमान् कम्मानेले उनलाई डोको र नाम्लोको सहारामा पिठ्युँमा बोकेर साढे दुई घण्टाको उकालो–ओरालो गर्नुपर्ने बाध्यता बनेको छ । मोहन्याल–३ को मुलेकाँणाबाट उनी एक्लै रोगले थला परेकी श्रीमतीलाई बोकेर फल्लेबिसौना पुग्छन् । श्रीमती बोकेर साढे दुई घण्टा हिँडेपछि मात्र उनी फल्लेबिसौना पुग्छन्, जहाँबाट मात्रै गाडी चढ्न पाइन्छ ।

खुट्टा सुन्निएपछि हिँडडुल गर्न नसक्ने अवस्था बनेका कारण श्रीमतीलाई डोको र नाम्लोको सहाराले एक्लैले बोक्नुपरेको उनी सुनाउँछन् । ‘बुढीलाई यस्तो अवस्थामा उपचार नगरी छोड्न सकिँदो रहेनछ । उपचारकै लागि डोकोमा बोकेर आफैँ फल्लेबिसौनासम्म लैजान्छु,’ कम्मानेले भने, ‘गाउँका युवा जति सबै विदेश छन् । बुढापाकालाई के दुःख दिनु भनेर एक्लै बोक्ने गरेको छु ।’ गाउँमा सहयोग लिनका लागि समेत मान्छे छैनन् । मुलेकाँणामा १५र१६ परिवार बस्छन् । अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् । गाउँमा बुढापाका, महिला र बालबालिका मात्र छन्, जसले बिरामी बोक्न सक्ने अवस्था छैन । स्वास्थ्य चौकी टाढा छ, स्ट्रेचर भए पनि बोक्ने मान्छेको अभाव छ ।

मधुमेहका कारण जमुनाको बायाँ खुट्टामा सङ्क्रमण फैलिएको छ । केही समयअघि नेपालगन्जमा उपचार गरिएको थियो । भारतमा ज्याला मजदुरी गर्दै आएका छोराले उतै लगेर घाउको अप्रेसन पनि गराएका थिए । तर, उताबाट फर्किएपछि भने खुट्टाको झन् सुन्निएपछि जमुनालाई समस्या भएको छ । श्रीमान् कम्मानेले यतै ज्यालादारी गरेर साँझ–बिहानको छाकको जोहो गर्थे । आर्थिक अभावका कारण लामो समयसम्म चाहेर पनि श्रीमतीलाई उपचारका लागि लैजान सकेनन् । मोहन्यालकै स्थानीय सुनिता शाह र कार्यपालिका सदस्य नानी दमाईले जमुनाको उपचारका लागि सहयोग सङ्कलन गर्दै ४० हजारजति रकम उठाएका थिए ।

स्थानीय हरियाली सामुदायिक वनका अध्यक्ष धनराज गिरीसमेतको सहयोगमा रकम सङ्कलन भएपछि पहिलोपटक डोकोमा बोकेर कम्मानेले श्रीमती जमुनालाई अस्पतालसम्म पु¥याएका थिए । भेरी अस्पताल नेपालगन्ज लगेर उपचार गराउँदा चिकित्सकले मधुमेहकै कारण खुट्टामा समस्या आएको बताउँदै औषधि दिएका छन् । जमुना अहिले औषधि खाइरहेकी छन् । तर आर्थिक अभावले उपचार निरन्तर गर्न कठिनाइ भइरहेको उनको दुखेसो छ । ‘दुई वर्षदेखि राम्रोसँग हिँड्न सकेकी छैन,’ जमुनाले भनिन्, ‘पैसा नभएकैले सोंचेजस्तो उपचार गर्न सकिरहेकी छैन ।’ उनका दुई छोरा र दुई छोरी छन् । जेठो छोराको विवाह भइसकेको छ । उनी परिवारसहित भारततिर छन् । कान्छो छोरा पनि भारतमा काम गर्छन् । आर्थिक सङ्कटले थिचेपछि ६ कक्षा पढ्दै गरेकी छोरी पनि काम खोज्दै दुई महिनाअघि भारत हानिएकी छन् ।

कम्माने आफ्नै पनि स्वास्थ्य अवस्था कमजोर छ । उनी दैनिक ज्याला मजदुरी (ढुङ्गा बोक्ने, कोदालो खन्ने) जस्ता काम गरेर गुजारा चलाउँदै आएका थिए । तर श्रीमतीको उपचार खर्च धान्न गाह्रो भइरहेको छ । ‘के गर्ने हजुर, मरेर पनि मरिन्न, पालेर पनि पालिन्न,’ पीडा पोख्दै उनले भने ।
श्रीमती पिठ्युँमा बोक्दै मुलेकाँणादेखि फल्लेबिसौनासम्मको साढे दुई घण्टाको कष्टपूर्ण यात्रामा उनी दुईवटा कुरा सम्झिन्छन्, पहिलो– चुनावमा गाउँ आएका नेता र दोस्रो– आफूले फेरेको मत । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा मत माग्न प्रायः सबैजसो राजनीतिक दलका नेता र उम्मेदवार गाउँ पुगेका थिए । उनीहरूले दमाईको परिवारलाई भेट्दै आफूलाई मत दिए श्रीमतीको उपचार गराइदिने बाचा गरेका थिए ।
तर, चुनाव सकिएपछि पनि कम्मानेको नियति पुरानै छ । चुनाव हारेको त कुरा छाडौँ, जितेका नेता पनि गाउँ नफर्किएको उनी गुनासो गर्छन् । यो चुनावमा सबैले जस्तै आफूले पनि मत फेरेको बताउने कम्माने नयाँ नेतालाई सांसद बनाएर पठाए पनि आफ्नो समस्या हल गर्न पहल नगरिदिएको सुनाउँछन् ।

‘चुनावमा भोट माग्न सबै दलका नेता आएका थिए । श्रीमतीको अवस्था देखाएको थिएँ । सबैले मत दिनुहोस् हामी समाधान गर्छौं भन्नुभयो तर फर्केर कसैले हेरेनन्,’ कम्मानेले भने, ‘पुरानाले केही गरेनन् भनेर मत फेरेर नयाँलाई दिएको थिएँ । तर सबै उस्तै रहेछन् ।’ यो क्षेत्रबाट रास्वपाका केपी खनालले प्रतिनिधिसभाको चुनाव जितेका छन् । आर्थिक अभाव र भौगोलिक विकटतालगायतका विभिन्न कठिनाइबीच पनि कम्मानेको एउटै चाहना छ, श्रीमतीलाई जसरी पनि राम्रो उपचार गराएर निको बनाउने । आवश्यक परेमा फेरि पनि भारत वा नेपालमै राम्रो अस्पतालमा लैजाने तयारीमा उनी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.