धनगढी : कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न तीन स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका–१० सडकघाटमा प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले सु.प.प्र. ०१–०१३ प. २६८१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पुनर्वास न.पा.–३ का २४ वर्षीय विजय गिरी, वडा नं ७ का २१ वर्षीय अमन तामाङ र चितवन भरतपुरका २४ वर्षीय रोहन बिकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन र ५ पिस ट्रमाडोल क्याप्सुल बरामद गरिएको छ ।
यस्तै, नगरपालिका–५ को पैसठ्ठी बिघाबाट पनि लागूऔषधसहित थप दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकलमा सवार २० वर्षीय रोहन तामाङ र २२ वर्षीय वीरेन्द्र राना रहेका छन् ।
उनीहरूको साथबाट ९ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कृष्णपुर नगरपालिका–९ राजघाटबाट ३१ वर्षीय अनिल रानालाई ५८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।