अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–४, राजिपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अत्तरिया हस्पिटल प्रा.लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त शिविर स्थानीय दिपज्योती युवा क्लबको सहकार्यमा सम्पन्न गरिएको हो ।
कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न शिविरमा राजिपुर तथा आसपासका क्षेत्रका करिब ३ सय ५० जना स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका हुन । शिविरमा सहभागी बिरामीहरूको जनरल चेकअपका साथै महिला रोग सम्बन्धी परामर्श, रक्तचाप (प्रेसर), मधुमेह (सुगर) लगायत विभिन्न स्वास्थ्य समस्याहरूको विशेषज्ञ चिकित्सकद्वारा परीक्षण गरिएको थियो ।
अस्पताल प्रशासनका अनुसार ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । कार्यक्रम व्यवस्थापनमा दिपज्योती युवा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
शिविरमार्फत आफ्नै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा स्थानीय बासिन्दाहरू निकै उत्साहित र सन्तुष्ट देखिएका थिए । आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता अत्तरिया हस्पिटलले जनाएको छ । अस्पतालका बजार व्यवस्थापक तथा प्रशासन सहायक सुदर्शन प्रसाद भट्टका अनुसार यस्ता कार्यक्रमहरूले ग्रामीण भेगका नागरिकको स्वास्थ्य पहुँच सुधार्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
