कञ्चनपुर : शुक्लाफाँटा आरक्ष पीडित जिल्ला संघर्ष समितिले आफ्ना माग सम्बोधन नगरेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि अर्धनग्न प्रदर्शन गरेका छन्। लामो समयदेखि आफूहरूलाई राज्यले बेवास्ता गर्दै आएको आरोप लगाउँदै पीडितहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले आरक्ष पीडितहरूका लागि न्यूनतम १० कट्टा जमिन उपलब्ध गराउन, विगत २४ वर्षसम्मको क्षतिपूर्ति व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा निःशुल्क र सुनिश्चित गर्न माग गरेका छन्। साथै, आरक्ष पीडितहरूलाई एउटै वडामा समेट्न र उनीहरूलाई द्वन्द्व पीडितसरह मान्यता दिनुपर्ने उनीहरूको जोड छ।
प्रदर्शनकारीहरूले आफूहरू वर्षौंदेखि अन्यायमा परेको भन्दै अब पनि माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारसँग पटक–पटक पहल गर्दा पनि ठोस सुनुवाइ नभएको गुनासो गरेका छन्।
जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शनले स्थानीय स्तरमै चासो बढाएको छ भने सरोकारवालाहरूले यस विषयमा तत्काल संवाद र समाधान आवश्यक रहेको बताएका छन्। यस अघि पनि उनीहरु पटक पटक दवावका कार्यक्रमहरु गर्दै आएका थिए । तर, राज्यले सुनुवाई गर्न सकेको छैन ।