धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले नयाँ जनादेशअनुसार प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल पत्रकार महासङ्घका प्रदेश तथा कैलाली शाखाका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा मुख्यमन्त्री शाहले वर्तमान राजनीतिक परिस्थिति जनभावनाअनुसार अघि बढ्न आवश्यक रहेको स्पष्ट पारे । उनले भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनबाट अभिव्यक्त जनचाहनाअनुसार संघीय सरकार गठन भएजस्तै प्रदेश र स्थानीय तहको निर्वाचन पनि ढिलाइ नगरी सम्पन्न गर्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री शाहले निर्वाचनमार्फत जनताको ताजा जनादेश प्राप्त गर्नु लोकतान्त्रिक प्रणालीको मूल आधार भएको उल्लेख गर्दै त्यसका लागि संघीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताए । “जनताको अपेक्षा अनुसार राज्य सञ्चालन हुनुपर्ने भएकाले निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने ।
यसै क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रदेश सरकार यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । सञ्चार क्षेत्रलाई जिम्मेवार, निष्पक्ष र सशक्त बनाउन सरकार सदैव सकारात्मक रहने उनको भनाइ थियो ।
पत्रकार महासङ्घका प्रतिनिधिहरूसँगको छलफलमा सञ्चार क्षेत्रका चुनौती, प्रेस स्वतन्त्रताको अवस्था तथा प्रदेशस्तरीय सहकार्यका विषयमा समेत विचार आदानप्रदान गरिएको थियो ।