अत्तरिया : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाले गरेको विकास कार्यको खुलेर प्रशंसा गरेका छन्। आइतबार धनगढीमा आयोजित ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले ललितपुरले धनगढीबाट अझ धेरै सिक्न बाँकी रहेको बताए।
कार्यक्रममा बोल्दै उनले धनगढीको ६ लेन सडक, स्मार्ट बत्ती जडान र हरियाली व्यवस्थापनले आफूलाई निकै प्रभावित बनाएको उल्लेख गरे। उनले धनगढीले दूरदृष्टि भएका मेयर गोपाल हमाल पाएकोमा गर्व गर्नुपर्ने बताए।
मेयर महर्जनले ललितपुर विश्व सम्पदा सूचीमा परेको सहर भए पनि फोहोर व्यवस्थापनमा अझै चुनौती रहेको स्वीकार गरे। उनले महानगरले पेट्रोल–डिजेल गाडी नकिन्ने नीति लिएको र फोहोर बोक्ने बाहेकका अधिकांश सवारी विद्युतीय बनाइसकेको जानकारी दिए।
धनगढीले सुरु गरेको ई–वेस्ट व्यवस्थापन कार्यक्रमलाई ललितपुरमा पनि लागू गर्ने प्रतिबद्धता उनले जनाए। साथै, चार वर्षअघि मलेसियामा भएको भेटमा स्मार्ट सिटी अवधारणाबारे भएको छलफल अहिले धनगढीले व्यवहारमा उतारेकोमा खुशी व्यक्त गरे।
उनले स्थानीय तहहरूबीच अनुभव आदानप्रदानले विकासलाई गति दिने विश्वास व्यक्त गर्दै धनगढीलाई नमुना उपमहानगरको रूपमा चित्रण गरे।