बैतडी : नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै बैतडीका विभिन्न सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
अभिभावकको घट्दो आकर्षणका कारण चुनौतीमा परेका सामुदायिक विद्यालयहरूले सम्बन्ध सुधार र गुणस्तर उकास्ने लक्ष्यसहित यस्तो अभियान थालेका हुन् ।
दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक माध्यमिक विद्यालय गुरुखोला, निङ्गलाशैनी माध्यमिक विद्यालय देहीमाण्डौं तथा विरेन्द्र माध्यमिक विद्यालय साहिलेक लगायतका विद्यालयहरुले घरदैलो अभियान अघि बढाएका छन् ।
यस्तै, सूर्नया गाउँपालिका–४ स्थित उदयदेव माध्यमिक विद्यालय पालिगडाले पनि नयाँ शैक्षिक सत्रका लागि घरदैलो अभियानसहित भर्ना कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक वीरसिंह साउदले जानकारी दिए । यसैगरी, बाशुदेव माध्यमिक विद्यालय लिस्कीटा, शंकर संस्कृत माध्यमिक विद्यालय मूलखटाली र रौलेश्वर माध्यमिक विद्यालय राम्की बरायलले पनि भर्ना अभियानलाई तीव्र बनाएका छन् ।
अभियानमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा सरोकारवाला सहभागी भई सेवा क्षेत्रका प्रत्येक टोलमा पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गरिरहेका छन् । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउने, बालबालिकालाई समयमै विद्यालयमा भर्ना गराउन प्रेरित गर्ने तथा शैक्षिक सुधारका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको सहभागी शिक्षक धिरबहादुर मडैले बताए ।
उनका अनुसार घरदैलोमार्फत विद्यालयले चालु शैक्षिक सत्रमा अघि सार्ने नयाँ कार्यक्रम, शैक्षिक सुधारका योजना र उपलब्ध सुविधाबारे अभिभावकलाई जानकारी गराइँदैछ । यसले अभिभावकमा सकारात्मक दृष्टिकोण विकास भई विद्यार्थी सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।
सामुदायिक विद्यालयप्रति घट्दो चासोका कारण सिर्जित संकट अन्त्य गर्न अभिभावक सँगको सम्बन्ध सुदृढ बनाउने, विश्वास कायम गर्ने र शिक्षण–सिकाइको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको विद्यालयहरूले जनाएका छन् ।
घरदैलो अभियानका क्रममा अभिभावकहरूबाट विद्यालय सुधारका लागि सुझावसमेत सङ्कलन गरिँदै आएको छ । साथै आफ्ना नानीबाबुहरू लाई समयमै विद्यालयमा भर्ना गराउन अभिभावकलाई आग्रह गरिएको छ ।