आकाश कार्की
अत्तरिया, १८ बैशाख : कैलालीको चुरे गाउँपालिका–५, खानीडाँडामा यतिबेला राताम्य काफलले सडक किनार सजाए जस्तै देखिन्छन् ।
बिहानैदेखि साँझसम्म काफल बेच्न बसेका महिलाहरूको चहलपहलले यो क्षेत्रलाई सिजनल बजार जस्तै बनाएको छ । यहाँ काफल केवल जंगली फल मात्र होइन, धेरै महिलाहरूको जीवनयापनको मुख्य आधार बनेको छ ।
खानीडाँडामा रहेको स्वावलम्बी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले काफल, अन्य फलफूल तथा तरकारी संकलन र बिक्री केन्द्र सञ्चालन गर्दै स्थानीय महिलाहरूका लागि आयआर्जनको अवसर सिर्जना गरेको छ । सहकारीमार्फत संकलन गरिएका उत्पादन सदस्यहरूलाई उपलब्ध गराइन्छ, जसलाई महिलाहरूले सडक किनारमै बिक्री गरी दैनिक आम्दानी गर्दै आएका छन् । यसले उनीहरूलाई घरआँगनमै रोजगारी प्रदान गरेको छ ।
महिलाको नेतृत्वमा सञ्चालन भइरहेको यस सहकारीमा करिब ५ सय शेयर सदस्य आबद्ध छन् । संस्थाले हरेक वर्ष किसानहरूले उत्पादन गरेका फलफूल तथा तरकारी संकलन गरी सस्तो मूल्यमा सदस्यहरूलाई उपलब्ध गराउँदै आएको छ, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।
संस्थाकी अध्यक्ष दीपा धामीका अनुसार सहकारीले किसान र बजारबीच सेतुको काम गरिरहेको छ । “हामीले चुरे–५ का विभिन्न ठाउँबाट काफल संकलन गरी सदस्यहरूलाई वितरण गर्छौं र अत्तरिया, धनगढी, डडेल्धुरा जस्ता बजारसम्म पु¥याउँछौं,” उनले भनिन् । उनका अनुसार सहकारीले एक सातामै १० देखि १५ क्विन्टलसम्म काफल बिक्री गरिसकेको छ ।
यस्तै, स्थानीय व्यापारी खगिसरा सापकोटाका अनुसार कैलालीसँगै डोटीको बडिकेदार गाउँपालिकाबाट पनि काफल संकलन गरी बिक्रीका लागि ल्याइन्छ । “सिजन सुरु भएको एक हप्ता भयो, दैनिक ४० देखि ५० केजीसम्म काफल बिक्री भइरहेको छ,” उनले भनिन् । स्थानीय स्तरमै उत्पादन संकलन र बजारीकरण सहज भएपछि गाउँमै रोजगारीका अवसरहरू बढेका छन् । यसले वैदेशिक वा बाह्य रोजगारीको खोजीमा जानुपर्ने बाध्यता घटाउँदै आफ्नै गाउँमा श्रम गरेर आत्मनिर्भर बन्न सकिने सम्भावना देखाएको छ ।
काफलको मिठाससँगै खानीडाँडाका महिलाहरूको संघर्ष, मेहनत र आत्मनिर्भरताको कथा पनि झल्किन्छ । सानो प्रयासले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण बनेको यो सहकारीले ग्रामीण महिलाको सशक्तिकरणको प्रेरणादायी कथा प्रस्तुत गरेको छ । यस्तै पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले पनि होला दैनिक अत्तरिया, धनगढी, महेन्द्रनगरबाट खानीडाँडामा काफल खान पुग्ने गरेका छन् । यसले गर्दा त्यहाँका महिलाहरु थप हौसिएका छन् । राजमार्गमा हिडिरहने यात्रुका लागि काफल मायाको चिनो बन्नु पुगेको देखिन्छ ।