धनगढी : लागूऔषध न्यूनीकरणको सन्देश फैलाउने उद्देश्यले जेसीज धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन भव्य रूपमा सम्पन्न भएको छ। धनगढी रंगशालामा ‘अब धनगढी दौडिन्छ’ नारासहित आयोजित प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
२१ दशमलव १ किलोमिटर दूरीको हाफ म्याराथनतर्फ नेपाली सेनाका धावक नरेन्द्र सिंह रावत प्रथम भएका छन्। उनले निर्धारित दूरी पूरा गर्दै उपाधिसहित ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। यसअघि २०७९ र २०८० सालमा दोस्रो तथा २०८१ र २०८२ मा तेस्रो स्थान हासिल गरेका रावतले यस वर्ष उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान कब्जा गरेका हुन्।
प्रतियोगितामा नेपाली सेनाकै सञ्जय श्रेष्ठ दोस्रो र अक्कल पाल तेस्रो भएका छन्। दोस्रो भएका श्रेष्ठले ५५ हजार ५५५ रुपैयाँ तथा तेस्रो भएका पालले ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसैगरी ५ किलोमिटर कर्पोरेटतर्फ कुशल प्रसाद जैसी प्रथम, प्रदीप खत्री दोस्रो र तेज बहादुर चन्द तेस्रो भए। ५ किलोमिटर महिलातर्फ देवकी कुमारी धामी प्रथम, सिला चौधरी दोस्रो र अप्सरा बम तेस्रो स्थानमा रहिन्।
कार्यक्रमअन्तर्गत आयोजित लक्की ड्रमार्फत जेनीथ कुँवरले सीजी एलइडी टिभी जितिन्। साथै निसर्ग अस्पतालले सन्तोष पाल, आशा जोशी र डल्लु राना मगरलाई निःशुल्क होल बडी चेकअप सेवा प्रदान गर्ने घोषणा गरेको छ।
जेसीज धनगढीका अध्यक्ष महेश्वर ओझाले यस्ता कार्यक्रमले युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै खेलकुदमार्फत महत्वपूर्ण सामाजिक सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताए।
कार्यक्रमसँगै विभिन्न स्टल सञ्चालन गरिनुका साथै रक्तदान शिविर पनि आयोजना गरिएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कार्यक्रमको उद्घाटन गरेका थिए भने समापन समारोहमा जेसीज नेपालका राष्ट्रिय अध्यक्ष जीवन कार्की प्रमुख अतिथि रहेका थिए। यस अवसरमा म्याराथनका ‘फेस अफ द इभेन्ट’ दीपक उपाध्यायलाई समेत सम्मान गरिएको थियो।