अछाम : नेपाली कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गरिरहेको ‘जरा अभियान’ सुदूरपश्चिममा भने अपेक्षित रूपमा प्रभावकारी बन्न सकेको छैन। अछामको बान्निगढी–जयगढ गाउँपालिकामा आयोजित कार्यक्रमले कांग्रेसको ‘जरा अभियान’ प्रभावकारी नबनेको संकेत गरेको छ।
जरा अभियानका केन्द्रीय प्रतिनिधि लेखराज जोशीको उपस्थितिमा बान्निगढीमा कार्यक्रम आयोजना गरिएको भए पनि जनसहभागिता भने अत्यन्त न्यून देखिएको छ। स्थानीयस्तरमा व्यापक प्रचार–प्रसार र सक्रियता नदेखिँदा कार्यक्रम औपचारिकतामा सीमित भएको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा उपस्थित केही नेताहरूका अनुसार, गाउँपालिकामा नेपाली कांग्रेसभित्रै गुटगत प्रभाव स्पष्ट देखिएको छ। विशेषगरी देउवा समूहको पकड बलियो रहेकाले अन्य समूहका कार्यकर्ताहरू अभियानप्रति उत्साहित नदेखिएको बताइएको छ।
स्थानीय तहमा पार्टीका संरचना सक्रिय नभएको, कार्यकर्ताहरूमा उत्साह अभाव रहेको तथा अभियानको उद्देश्यबारे स्पष्ट जानकारी नपुगेको कारण जनसहभागिता कमजोर भएको विश्लेषण गरिएको छ।
सुदूरपश्चिमका अन्य जिल्लाहरूमा समेत ‘जरा अभियान’ अपेक्षाकृत सुस्त रहेको बताइन्छ। पार्टीको केन्द्रबाट निर्देशन आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा हुन सकेको छैन।