अत्तरिया : नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई हटाउन आज निर्णायक छलफल बोलाइएको छ । पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता रावलको कार्यशैली ठीक नभएको भन्दै लामो समयदेखि दलको नेताबाट हटाउन भइरहेको प्रयास सफल नभएकोमा अन्तिम कसरतमा नेताहरू जुटेका हुन् ।
दलको नेता र उनको भूमिका तथा कार्यशैलीबारे समीक्षा गर्न पार्टीको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमका प्रदेशसभा सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुण्डु बोलाएको छ । ‘गुण्डुमा आज छलफल हुन्छ, र धेरै माननीयज्यूहरूले नेता फेर्नुपर्छ भन्नुभयो भने रावललाई हटाउने तयारी पनि छ,’ एमाले सुदूरपश्चिमका एक नेताले भने ।
यसअघि प्रदेश सांसद, पार्टीको प्रदेश कमिटी, युवा संघलगायतमा आबद्ध नेताहरूले रावल सम्पर्कविहीन भएको र भूमिका ठीक नभएको भन्दै नेता फेर्न माग गरेका थिए । प्रदेश कमिटीले त केन्द्रीय कमिटीलाई दलको नेता रावललाई खोजिदिन आग्रह गर्दै पत्र नै लेखेको थियो । रावल सम्पर्कविहीन भएको र सकभर खोजिदिन तथा सम्भव नभए दलको नेता नै फेरिदिन आग्रह गर्दै प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पत्र लेखेका थिए ।
रावलाई हटाउन नयाँ पार्टी नेतृत्व पनि सकारात्मक रहेको बताइएको छ । तर, नयाँ नेता कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र प्रदेशसभा सदस्य धर्मराज पाठक दल नेताको दौडमा छन् ।
यस्तै, सुदूरपश्चिम सरकारमा एमालेका मन्त्रीको भूमिकाबारे पनि छलफल हुने बताइएको छ । एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा ९पाताल०, हिरा सार्की मन्त्री तथा निर्मलादेवी साउद राज्यमन्त्री छन् । सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेस नेतृत्वको सरकार छ ।