धनगढी : कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बुधबार जिल्लाको शुक्लाफाँटा नगरपालिका ८ भित्री सडक खण्डमा म २ प ५०५५ र से ६ प ५९१३ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटाका ४५ वर्षीय मिनबहादुर जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए। उनका अनुसार गम्भीर घाइते भएका जाग्रीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार पारीफाँटाकै ५५ वर्षीय मंगल महरा र म २ प ५०५५ नम्बर मोटरसाइकलका चालक ४२ वर्षीय कम्मान सिंह ठगुन्ना घाइते भएका छन्। उनीहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।