बाजुरा, २४ वैशाख : सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना गरेको छ । जरिबाना रकम असुल उपर गर्न प्रक्रिया अगाडि बढाइसकिएको डिभिजनले जनाएको छ ।
पटक पटक काम सम्पन्न गर्न पत्राचार गर्दा पनि बेवास्ता गरेपछि निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीलाई जरिबानाका लागि सार्वजनिक सूचना जारी गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुभाष शाहले जानकारी दिए ।
२०८३ मंसिर १५ गते नै ठेक्का रद्द गरेको सडक डिभिजन अहिले रकम असुल उपरको अन्तिम प्रक्रियामा पुगेको हो । २०८३ चैत ९ गते नै रकम दाखिलाका लागि ३५ दिने सूचना जारी गरेको सडक डिभिजन समयमा जरिबाना नतिरेपछि अन्तिम प्रक्रियामा पुगेको हो ।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४७ (३) तथा आर्थिक कार्यविधि तथा वित्तिय नियमावली, २०७७ को नियम ९० (५) बमोजिम सरकारी बाँकी सरह असुल उपरका लागि लगत कायम गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने बेहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
सबै प्रक्रिया अन्तिम चरणमा पुगिसक्दा पनि कम्पनीले रकम दाखिला नगरेकोले अब लगत कायम गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यलयमा पठाउने तयारीमा रहेको सूचना अधिकारी शाहले बताए ।
बाजुरा सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलामा पुल निर्माण सम्पन्न नहुँदा जोखिम मोलेर यातायात सञ्चालन भइरहेको छ ।