धनगढी : कैलालीको कैलारी गाउँपालिकामा भएको ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को उपाधि बर्दियाको नेम्स क्लबले जितेको छ । श्री युवा जनहित क्लवको आयोजनामा वैशाख १७ गतेदेखि भएको प्रतियोगिताको फाईनलमा जित हात पार्दै नेम्सले उपाधि जितेको हो ।
कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको फाईनलमा आयोजक श्री युवा जनहित क्लबलाई २–० ले हराउँदै नेम्स च्यामपीयन भएको हो । प्रतियोगिताको विजेता बनेको नेम्सले एक लाख रुपैयाँ र उपविजेता बनेको आयोजक श्री जनहित क्लबले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढीका अध्यक्ष तीर्थ पन्त, विशिष्ठ अतिथि कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरी रहेकी थिइन् ।
प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवद्र्धकका रूपमा रहेको छ । साथै विभिन्न संघसंस्था तथा निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन तथा प्रवद्र्धनमा सहयोग गरेका छन् ।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएका थिए ।