नवजीवन सहकारीमा घनबहादुर शाहको दमदार प्रवेश : पारदर्शिता, सुशासन र समृद्धिको एजेन्डासहित चुनावी प्यानल घोषणा

धनगढी  : नवजीवन सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारणसभा अन्तर्गत आगामी जेठ ९ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार घनबहादुर शाहले आफ्नो चुनावी प्यानल सार्वजनिक गरेका छन् । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत शाहले आफ्नो नेतृत्वको टिम तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

शाह नेतृत्वको प्यानलमा उपाध्यक्ष पदका लागि ईश्वर जोशी उम्मेदवार रहेका छन् । सदस्य पदमा दीर्घबहादुर शाह, धनञ्जय भट्ट, पवित्रा कुमारी धिक्त (पाण्डेय), लक्ष्मीनारायण चौधरी, विक्रम विश्वकर्मा, विश्वनाथ ओझा र शिवकुमार जोशी (फुलारा) चुनावी मैदानमा रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शाहले पारदर्शिता, सुशासन र सदस्यहरूको आर्थिक समृद्धिलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको बताए । उनले सहकारीको पुँजीलाई सुरक्षित राख्दै सदस्यहरूको आर्थिक स्तर उकास्ने, स्वरोजगारका अवसर सिर्जना गर्ने तथा संस्थालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

शाहले सहकारीका सम्पूर्ण वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाइने उल्लेख गर्दै सदस्यहरूको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य रहेको बताए । उनले बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा समेत सहकारीको योगदान विस्तार गरिने योजना सुनाए ।

उनले आफ्नो नेतृत्वको टिममा लामो समयदेखि सामाजिक, प्रशासनिक तथा सरकारी सेवामा अनुभव हासिल गरेका व्यक्तिहरू समावेश भएकाले टिम सक्षम र बलियो रहेको दाबी गरे ।

शाह नेतृत्वको प्यानलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सदस्यमैत्री सेवा, संस्थागत सुधार, आर्थिक अनुशासन र आधुनिक प्रविधिको प्रयोगमार्फत नवजीवन सहकारीलाई नमुना संस्थाका रूपमा विकास गर्ने लक्ष्य उल्लेख गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.