महेन्द्र राजमार्गको चिसापनी-अत्तरिया क्षेत्रमा भएको अतिक्रमण खाली गर्न १५ दिने अल्टिमेटम, नहटाए बल प्रयोग हुने

धनगढी  : महेन्द्र राजमार्गको चिसापानी–अत्तरिया–गड्डाचौकी सडक खण्डमा भएको अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले कडा कदम चालेको छ ।

सडक सीमाभित्र बनेका अनाधिकृत संरचना हटाउन अन्तिम चेतावनीसहित १५ दिनको अल्टिमेटम जारी गरिएको हो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडकको केन्द्रबाट दायाँ–बायाँ २५-२५ मिटरभित्र रहेका सम्पूर्ण घर, टहरा तथा अन्य संरचना हटाउन निर्देशन दिएको छ । सूचना अनुसार सडक विभागको पूर्वस्वीकृति बिना निर्माण गरिएका संरचना सम्बन्धित धनी आफैँले निर्धारित समयभित्र हटाउनुपर्नेछ ।

सडक डिभिजनले आगामी जेठ १४ गतेसम्मको समयसीमा तोकेको छ । सो अवधिभित्र अतिक्रमण हटाइएन भने कार्यालय स्वयंले संरचना हटाउने र सो कार्यमा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने स्पष्ट चेतावनी दिइएको छ ।

कार्यालयका अनुसार सडक सुरक्षा, यातायात व्यवस्थापन र विस्तार कार्य सहज बनाउन अतिक्रमण हटाउनु अपरिहार्य भएको हो । पछिल्ला वर्षहरूमा राजमार्ग आसपास अनाधिकृत संरचना बढ्दै जाँदा दुर्घटनाको जोखिम र सडक संकुचनको समस्या बढ्दै गएको छ ।
सडक डिभिजनले सार्वजनिक सडक ऐन, २०३१ अनुसार आवश्यक कारबाही अघि बढाइने पनि जनाएको छ । स्थानीय तह र सरोकारवालासँग समन्वय गर्दै अभियानलाई प्रभावकारी बनाइने तयारी गरिएको छ ।

यस कदमले राजमार्गलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन विकासका लागि उपयुक्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.