धनगढी । निर्माणजन्य सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ कैलालीले सरकारविरुद्ध विरोध जनाएको छ । संघले बिहिबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको हो ।
निर्माण व्यवसायीहरूले पछिल्लो समय सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण कार्य प्रभावित भएको बताएका छन् । उनीहरूले मूल्यवृद्धिका कारण ठेक्का सञ्चालन गर्न कठिनाइ भएको, लागत अत्यधिक बढेको तथा समग्र निर्माण क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।
संघले सरकारसँग निर्माण सामग्रीको मूल्य नियन्त्रण गर्न, व्यवसायीमैत्री नीति लागू गर्न तथा निर्माण क्षेत्रलाई राहत पुग्ने विशेष कार्यक्रम ल्याउन माग गरेको छ । माग सम्बोधन नभए निर्माण क्षेत्र थप संकटमा पर्ने चेतावनीसमेत व्यवसायीहरूले दिएका छन् ।
ज्ञापनपत्र बुझाएपछि निर्माण व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन कार्यालयको गेटअगाडि आधा घण्टा धर्ना कार्यक्रम आयोजना गरेको थियो । धर्नामा सहभागी व्यवसायीहरूले सरकारको नीति तथा बेवास्ताप्रति असन्तुष्टि जनाउँदै तत्काल हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
निर्माण व्यवसाय सङ्घ कैलालीका अध्यक्ष दीर्घराज जोशीले सरकारले शीघ्र ठोस कदम नचाले थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए । उनले निर्माण क्षेत्र देशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै व्यवसायीहरूको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए ।