‘नगरकै आग्रहमा बनेको प्रादेशिक अस्पताल, अब राजनीति नगर्नुस्’ : मन्त्री खड्काको चेतावनी

धनगढी  : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का ले लम्कीचुहा प्रादेशिक अस्पताल नगरपालिकाकै अनुरोधमा स्थापना गरिएको बताएका छन्।

बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया कानुनी र संस्थागत रूपमा पूरा गरिएको स्पष्ट पारे। उनले नगरपालिकाले अहिले आएर विरोध गर्नु राजनीतिक प्रेरित भएको संकेत गरे।

उनका अनुसार कुनै पनि नगर अस्पताललाई प्रदेश सरकारले एकल निर्णयबाट स्तरोन्नति गर्न नसक्ने भन्दै नगर कार्यपालिकाको निर्णय, प्रदेश मन्त्रिपरिषद्को स्वीकृति तथा संघीय मन्त्रिपरिषद्को सहमति अनिवार्य हुने बताए।

मन्त्री खड्काले ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, ओएनएम प्रक्रिया तथा प्रशासनिक तयारी पूरा गरिएको जानकारी दिए। उनले प्रादेशिक अस्पताल बनेपछि त्यसको दायित्व प्रदेश सरकारकै हुने भएकाले आवश्यक समन्वयका लागि नगरपालिकालाई पटक–पटक पत्राचार गरिएको तर नगर प्रमुख पक्ष संवादमा नआएको आरोप लगाए।

अस्पताल व्यवस्थापन समितिको अध्यक्ष मेयरलाई बनाउनुपर्ने मागबारे बोल्दै उनले सुदूरपश्चिम प्रदेश अस्पताल गठन आदेशमा त्यस्तो व्यवस्था नभएकाले कानुनअनुसार नै समिति गठन गरिएको बताए।

उनले लम्कीचुहा प्रादेशिक अस्पतालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भए पनि अन्तरिम आदेश जारी नभएको उल्लेख गर्दै कानुनी रूपमा अस्पताल प्रादेशिक अस्पतालकै हैसियतमा रहेको दाबी गरे।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि ४ करोड ८७ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए।

यता केही दिनअघि प्रदेश सरकारले खटाएका कर्मचारीलाई नगरप्रमुख सुशीला शाही ले नगर प्रहरी लगाएर कार्यालयबाट बाहिर निकालेको आरोप लागेको छ। बुधबार भने अस्पताल सञ्चालनको माग गर्दै स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.