अत्तरिया : अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । संस्थाको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन समितिले नयाँ पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएको हो ।
शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा राजेन्द्र बहादुर खड्का निर्वाचित भएका थिए । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्मसिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउद तथा सचिवमा छविन्द्र नाथ योगी विजयी भएका छन् ।
नवनिर्वाचित सदस्यहरूमा रमेश कडायत, धर्मराज भट्ट, चन्द्रा कुमारी कठायत, जमुना देवी साउद, खिमा देवी ओझा तथा राधा विष्ट कुँवर रहेका छन् ।
शपथ ग्रहणपछि बोल्दै अध्यक्ष खड्काले संस्थालाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नियमित खानेपानी वितरण, सेवा विस्तार तथा सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।
“उपभोक्ताको विश्वासलाई कायम राख्दै संस्थाको दीर्घकालीन विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्नेछौं,” अध्यक्ष खड्काले भने, “खानेपानी जस्तो आधारभूत आवश्यकतालाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन नयाँ कार्यसमितिले जिम्मेवार भूमिका निर्वाह गर्नेछ ।”
त्यसैगरी महासचिव धर्मसिंह कुँवरले निर्वाचनका क्रममा सार्वजनिक गरिएको १२ बुँदे प्रतिबद्धतालाई पूर्ण रूपमा कार्यान्वयन गरिने बताएका छन् । उनले खानेपानी सेवा सुधार, वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने तथा उपभोक्ताका गुनासालाई प्राथमिकताका साथ सम्बोधन गरिने उल्लेख गरे ।
कार्यक्रममा स्थानीय उपभोक्ता, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी दिनमा खानेपानी व्यवस्थापन र सरसफाइ क्षेत्रमा थप प्रभावकारी र परिणाममुखी काम गर्ने अपेक्षा गरिएको छ ।