सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रिया, विभिन्न सिनेट सदस्य मनोनित

धनगढी । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रियालाई तीव्रता दिँदै विश्वविद्यालयका विभिन्न सिनेट सदस्य तथा समितिहरू गठन गरिएको छ ।

माननीय शिक्षा मन्त्री सस्मित पोखरेल, कमल बहादुर शाह तथा बिरेन्द्र भट्ट लगायतको उपस्थितिमा सम्पन्न उच्चस्तरीय बैठकले विश्वविद्यालयको प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

विश्वविद्यालय ऐनअनुसार विभिन्न समिति तथा सिनेट सदस्यहरूको मनोनयन गरिएको जनाइएको छ । नवगठित समितिले आगामी दिनमा विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रार नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।

बैठकपछि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया सुदूरपश्चिमकै लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उनले विश्वविद्यालय सञ्चालनसँगै स्वास्थ्य शिक्षा, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन तथा स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

यसैबीच सरकारले ल्याएको ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश’मार्फत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनका चार वटा दफा संशोधन गरिएको छ । अध्यादेशअनुसार दफा २३ को उपदफा (२) हटाइएको छ, जसमा उपकुलपतिको पदावधि चार वर्ष हुने र कार्यसम्पादन सन्तोषजनक भए अर्को एक कार्यकालका लागि पुनः नियुक्त गर्न सकिने व्यवस्था थियो ।

विश्वविद्यालय ऐन बमोजिम दफा ७ को उपदफा २ (ठ) अनुसार ६ जना सदस्य मनोनित गरिएको छ । मनोनित सदस्यहरूमा प्रा. डा. जयराज अवस्थी, डम्मर पाल (दुर्गालक्ष्मी क्याम्पस), हेमा भट्ट, प्रा. डा. संगीता राजभण्डारी, डा. लवदेव अवस्थी तथा धर्मदेव भट्ट (क्याम्पस प्रमुख, ऐश्वर्या क्याम्पस) रहेका छन् ।
त्यसैगरी दफा २५ अनुसार गठन गरिएको सिफारिस समितिमा प्रा. डा. जयराज अवस्थी, प्रा. डा. लोचना श्रेष्ठ र दिनेश लम्साल सदस्य रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.