धनगढी : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न ७ औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका चारै जना उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन परिणामअनुसार प्रालिका अध्यक्ष समेत रहेका पदमराज सापकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेय पनि केन्द्रीय सदस्य पदमा विजयी भए ।
उद्दार उपाध्यक्ष रमेश उप्रेती वर्गीय केन्द्रीय सदस्यमा निर्वाचित हुँदा निवर्तमान अध्यक्ष टेकराज जोशी प्रदेश संयोजक पदमा निर्वाचित भएका हुन् ।
महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा देशभरका यातायात व्यवसायी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवार विजयी भएपछि प्रालि परिवारमा उत्साह छाएको छ ।
निर्वाचित केन्द्रीय सदस्य पदमराज सापकोटाले आफूहरूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण मतदाता व्यवसायीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले व्यवसायीहरूको हकहित, यातायात क्षेत्रको सुधार तथा संस्थागत मजबुतीका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
महासंघको निर्वाचनमा प्राप्त सफलताले सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायीहरूमा थप उत्साह र आत्मविश्वास थपिएको प्रालि परिवारले जनाएको छ ।