बाजुरा : बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ कोल्टीमा भूमि प्रशासन कार्यालय स्थापना भएको झन्डै एक महिना पुगे पनि सेवा प्रवाह भने सुरु हुन सकेको छैन ।
यहाँका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका स्थानीयलाई जग्गा कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले २०८३ वैशाख १ गते कोल्टीमा उक्त कार्यालय स्थापना गरिएको थियो ।
कार्यालय स्थापना भएको एक महिना बितिसक्दा पनि नागरिकले सेवा पाउन नसकेपछि स्थानीयमा अन्योलता छाएको छ । स्थानीय सरकार, जिल्ला प्रशासन तथा नेताहरूको पहलमा गाउँमै सेवा दिने उद्देश्यले मालपोत र नापीसम्बन्धी सेवा सञ्चालनका लागि कार्यालय स्थापना गरिएको भए पनि सेवा प्रवाह सुरु हुन नसकेको हो ।
हिमाली गाउँपालिका का स्थानीय नरवीर रोकायाले कोल्टीमा स्थापना गरिएको मालपोत र नापी कार्यालयले अझै काम सुरु नगरेको बताए।
उनका अनुसार कार्यालय स्थापना भएदेखि नै कार्यालय खुला छन् र कर्मचारी पनि नियमित हाजिर हुने गरेका छन् । तर नागरिकलाई सेवा प्रवाह भने अझै हुन सकेको छैन ।
कोल्टीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय कोल्टी ले वैशाख १ गतेदेखि नै सेवा सुरु गरेको थियो । कार्यालयले स्थापना भएकै दिन नागरिकता वितरण तथा राष्ट्रिय परिचयपत्र बनाउने कामसमेत सुरु गरेको थियो ।
इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीयलाई नागरिकता बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । बिहान आएर बेलुकासम्म काम सकेर घर फर्किन सकिने भएपछि स्थानीयको समय र खर्च दुवै बच्न थालेको छ ।
तर मालपोत र नापी कार्यालयबाट सेवा सुरु नहुँदा स्थानीय अहिले पनि समस्यामा परिरहेका छन् ।
यता भूमि प्रशासन कार्यालय कोल्टीका प्रमुख देवराज नाथले कर्मचारी कार्यालयमा नियमित उपस्थित भए पनि आवश्यक सामग्री अभावका कारण सेवा सञ्चालनमा समस्या भएको बताए ।
उनका अनुसार बुधबार मार्तडीबाट ढड्डा पनि ल्याइसकिएको छ । तर माथिबाट सिस्टमको युजर पासवर्ड नआएकाले सेवा प्रवाह सुरु गर्न नसकिएको हो ।
यता गोविन्दबहादुर मल्लले आफूहरूले उपलब्ध गराउने भनिएको सामग्री भूमि प्रशासन कार्यालय कोल्टीलाई हस्तान्तरण गरिसकेको बताए ।