नेतृत्व टकरावले कैलाली काँग्रेस मुख्यालयमा तालाबन्दी

धनगढी  : नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालय (मुख्यालय) मा गरिएको तालाबन्दीपछि क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको छ। पार्टी केन्द्रीय समितिले जेठ १२ गतेभित्र सदस्यता नवीकरण सम्पन्न गर्न निर्देशन दिए पनि कैलालीमा भने आन्तरिक शक्ति संघर्षका कारण कामकाज ठप्प बनेको हो।

धनगढीस्थित जिल्ला पार्टी कार्यालयमा बिहीबार बिहानदेखि वडा सभापति, क्षेत्रीय सभापति तथा सयौं नेता–कार्यकर्ता जम्मा भए पनि कार्यालयको मूल गेटदेखि भित्री कार्यकक्षसम्म ताला लगाइएपछि उनीहरू आक्रोशित बनेका छन्।

केही नेता तथा कार्यकर्ता पछाडिको सिँढी प्रयोग गरेर कार्यालयभित्र प्रवेश गरेका थिए। तर, सबै कोठामा ताला लगाइएकाले कुनै पनि प्रशासनिक काम सञ्चालन हुन सकेन।

विशेष महाधिवेशनको विपक्षमा रहेका समूहले पार्टी केन्द्रीय समितिको सदस्यता अध्यावधिक सम्बन्धी निर्णय कार्यान्वयन गर्न नदिने अडान लिएपछि विवाद चर्किएको बताइएको छ। जिल्ला सभापति नारायणदत्त भट्ट संस्थापन पक्षका नेता मानिन्छन्।
स्रोतका अनुसार कार्यालय बन्द गराउन सभापति पक्षकै निर्देशन रहेको आरोप लागेको छ। यद्यपि यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
पार्टी कार्यालय सचिव प्रयाग जोशी समेत सम्पर्कविहीन रहेको भन्दै कार्यालयमा उपस्थित नेता तथा कार्यकर्ताले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुने गरी गरिएको तालाबन्दी तत्काल खोल्न माग गरेका छन्।

कैलाली कांग्रेसभित्रको आन्तरिक विवाद अब खुला टकरावमा पुगेको भन्दै स्थानीय नेता–कार्यकर्ताले नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सदस्यता नवीकरण प्रक्रिया रोकिँदा आगामी संगठनात्मक गतिविधि र महाधिवेशन तयारीसमेत प्रभावित हुने देखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.