धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले नेपाली कांग्रेस तत्काल विभाजनको अवस्थामा नरहेको बताएका छन्। पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्न वर्तमान नेतृत्वले सबै धार र पुस्तालाई समेट्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बलायरले कांग्रेसभित्रको शक्ति केवल सानेपामा सीमित नरहेको उल्लेख गरे। उनका अनुसार पार्टीभित्र बाहिरिएका, असन्तुष्ट र पुराना नेताहरूलाई सम्मानपूर्वक समेट्न नसकिए संगठन थप कमजोर बन्न सक्छ।
“अहिले पनि ठूलो शक्ति सानेपाभन्दा बाहिर छ। त्यो शक्ति र सानेपाको नेतृत्व एउटै ठाउँमा आउनुपर्छ। त्यसका लागि गगन थापाले समाधानको बाटो दिनुपर्छ,” बलायरले भने।
उनले विशेष महाधिवेशनपछि स्थापित नेतृत्वलाई कानूनी रूपमा स्वीकार गरिए पनि भावनात्मक रूपमा पार्टी अझै एक ठाउँमा उभिन नसकेको टिप्पणी गरे।
“कानूनी सभापति मात्रै होइन, भावनात्मक नेतृत्व पनि आवश्यक”
बलायरले पार्टी सभापति गगन थापा लाई संकेत गर्दै नेतृत्वले केवल औपचारिक अधिकारभन्दा माथि उठेर भावनात्मक एकता निर्माण गर्नुपर्ने बताए।
उनले १४औँ महाधिवेशनबाट आएका पुराना पदाधिकारी तथा नेताहरूलाई अपमानजनक व्यवहार गरिनु दुर्भाग्यपूर्ण भएको धारणा राखे।
“हिजो नेतृत्व गरेका नेताहरूको मानमर्दन हुनु हुँदैन। १५ औँ महाधिवेशनसम्म कांग्रेसलाई एकताबद्ध राख्न सबैबीच सम्मानजनक सम्बन्ध आवश्यक छ,” उनले भने।
देउवा पक्षको सम्पर्क कार्यालय ‘फुट’ होइन
बलायरले शेरबहादुर देउवा निकट समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई पार्टी फुटको संकेतका रूपमा व्याख्या गर्न नहुने बताए।
उनले कांग्रेसभित्र अहिले पनि एकताको सम्भावना बलियो रहेको दाबी गर्दै देउवाको पनि पार्टी विभाजन गर्ने मनसाय नरहेको स्पष्ट पारे।
“हामी एकताको पक्षमा छौँ। तर नेतृत्वबाट त्यसअनुसारको सन्देश आउनुपर्छ,” उनले भने।
सुदूरपश्चिमबाट ‘रणनीतिक मुभ’ को संकेत
प्रदेश समितिले आगामी १० गते आयोजना गर्न लागेको कार्यक्रमलाई लिएर बलायरले सुदूरपश्चिमबाट कांग्रेसको भावी रणनीतिबारे गम्भीर छलफल हुने बताए।
उनका अनुसार कार्यक्रम कुनै गुटगत भेलाभन्दा पनि कांग्रेस पुनर्जागरण र संगठन सुदृढीकरणमा केन्द्रित हुनेछ। “मेरो एउटै चिन्ता कांग्रेसलाई एक बनाउने हो। कांग्रेस कमजोर भयो भने देशको राष्ट्रिय राजनीति नै कमजोर हुन्छ,” उनले भने।
प्रदेश सरकार फेरबदल देउवा–ओली समझदारीमा मात्रै
सत्ता समीकरणबारे बोल्दै बलायरले अहिले कांग्रेस तत्काल नेकपासँग सहकार्यमा जाने सम्भावना कम रहेको बताए।
उनले प्रदेश सरकारहरूको सम्भावित फेरबदल पनि केपी शर्मा ओली र देउवाबीचको समझदारीपछि मात्रै सम्भव हुने संकेत गरे।
“देउवा र ओलीबीच सहमति भएपछि मात्रै प्रदेश सरकारहरू हेरफेर हुन्छन्,” उनले भने।
बलायरले वर्तमान सत्ता संरचनालाई “गठबन्धनविरोधी प्रवृत्तिको सरकार” भन्दै कांग्रेसले आगामी स्थानीय र प्रदेश निर्वाचनलाई ध्यानमा राखेर व्यापक एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याए।