धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिममा परामर्श,अन्तक्रिया र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले यही जेठ ७ र ८ गते धनगढीमा केन्द्रीयस्तरको परामर्श,अन्तक्रिया र प्रशिक्षण कार्यक्रम आयेजना गर्ने भएको हो ।
सो पार्टीको सुदूरपश्चिम समितिले आज धनगढीमा पत्रकार भेटघाटको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको छ । नेकपाको सुदूरपश्चिम प्रदेश सहइन्चार्ज खगराज भट्टले जेठ ७ गते प्रदेशमा कार्यरत पार्टीका केन्द्रीय सदस्यहरुका बीच परामर्श बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिने जानकारी दिए ।
त्यस्तै, जेठ ८ गते पार्टीका प्रदेश समिति सदस्यसम्मको उपस्थितिमा परामर्श अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिने उनले बताए । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,सहसंयोजक माधवकुमार नेपाल,नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, रञ्जिता श्रेष्ठ लगायतको उपस्थिति रहने उनले जानकारी दिए ।
कार्यक्रमले नेकपाको लोकप्रियता,विश्वसनीयता,अग्रगामी शक्तिको एकआध निर्वाचन परिणामले यसको औचित्य र उपादेयिता समाप्त हुँदैन भन्ने सावित गर्ने उनले बताए । पत्रकार भेटघाटमा बोल्दै प्रदेश इन्चार्ज भानुभक्त जोशीले पार्टीका प्रदेश,जिल्ला,पालिका तथा वडासम्मका पार्टी समायोजनाका कामहरु जेठ महिनाभित्रै सम्पन्न गरिसक्ने बताए ।
त्यस्तै उनले अहिलेको दुई तिहाइको सरकारले जनतामा त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाए । उनले भने ‘सुकुम्बासी बस्ती जसरी हटाइयो त्यो मानवीयता तथा संविधानका हिसावले पनि गलत ढंगले गरिएको छ । अहिले अव्यवस्थित बसोबासीमा पनि त्रास पैदा भएको छ ।’ उनले देश भदौ २३ र २४ पछि जुन ढंगले अगाडि बढ्नुपर्ने थियो त्यो ढंगले अगाडि नबढेको बताए ।