मालाखेतीका डीएसपी  चन्द ‘पुलिस अफ द मन्थ’ घोषित

अपराध नियन्त्रणदेखि तस्करी नियन्त्रणसम्म उत्कृष्ट कार्यसम्पादन

अत्तरिया  : मालाखेतीका डीएसपी रण बहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलालीले वैशाख महिनाको उत्कृष्ट प्रहरी अर्थात् ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखका रूपमा कार्यरत रहँदा अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम तथा कमाण्ड परिचालनमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत उनी सम्मानित भएका हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द ले डीएसपी चन्दलाई प्रशंसा–पत्रसहित सम्मान गर्दै उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गरेको हो । सम्मानपत्रमा आगामी दिनमा पनि अपराध नियन्त्रण र अनुसन्धानमा अझ प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गरिएको छ ।
डीएसपी चन्दको नेतृत्वमा इलाका प्रहरी कार्यालय मालाखेतीले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालाखेती क्षेत्रमा तस्करी नियन्त्रण अभियानअन्तर्गत रु ७ लाख ८६ हजार ७६० बराबरका अवैध भन्सार छलीका सामान बरामद गरिएको थियो ।
त्यसैगरी लागूऔषध नियन्त्रण अभियानमा १३ ग्राम ५४० मिलिग्राम खैरो हिरोइनसहित ११ जना प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परेका थिए । प्रहरीले १ थान अवैध भरुवा बन्दुकसहित २ जनालाई नियन्त्रणमा लिनुका साथै विभिन्न कसुरमा फरार रहेका ३ जना प्रतिवादीलाई समेत पक्राउ गरेको जनाएको छ ।
मालाखेती प्रहरीले अवैध मदिरा नियन्त्रणमा पनि प्रभावकारी अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा १२ हजार ४ सय लिटर तयारी घरेलु मदिरा र ६ हजार ७ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको थियो ।
शान्त, सुरक्षित र अपराधमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रहरी प्रशासनले डीएसपी चन्दलाई यो सम्मान प्रदान गरेको जनाएको छ । हाल डीएसपी रणबहादुर चन्द मालाखेतीबाट डोटी सरुवा भइसकेका छन् ।
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.