१९ वर्षदेखि अलपत्र टेढी–गुर्गी बाँध निरीक्षणमा मुख्यमन्त्री शाह : “अब किसानले सिँचाइ अभाव झेल्नुपर्दैन”

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले कैलालीको कैलारी गाउँपालिका क्षेत्रमा रहेका टेढी र गुर्गी बाँधको स्थलगत निरीक्षण गर्दै सिँचाइ पुनर्स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिने बताएका छन्।

विहीबार मुख्यमन्त्री शाहले कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गर्दै लामो समयदेखि समस्यामा परेका किसानलाई राहत दिने प्रतिबद्धता जनाए। उनले कृषि उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।

कटैनी नदीमा निर्माण गरिएका यी दुवै बाँध कैलाली जिल्लाका पुराना सिँचाइ आयोजना अन्तर्गत पर्छन्। स्थानीयका अनुसार टेढी सिँचाइ आयोजनाबाट वडा नम्बर २, ३, ५, ६, ७ र ८ का किसान लाभान्वित हुँदै आएका थिए भने गुर्गी सिँचाइ आयोजनाले वडा नम्बर १, ३, ५ र ७ का हजारौं कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो।

तर २०६४ सालको भीषण बाढीले दुवै बाँधमा ठूलो क्षति पुर्‍याएपछि आयोजना प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। बाँध भत्किनुका साथै नहर निर्माण अधुरै रहँदा किसान वर्षौंदेखि सिँचाइ अभाव झेल्न बाध्य छन्।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी ले टेढी र गुर्गी बाँध पुनर्निर्माणसँगै नहर निर्माण सम्पन्न भए हजारौं किसान प्रत्यक्ष लाभान्वित हुने बताए। उनका अनुसार गाउँपालिकाका करिब ९५ प्रतिशत नागरिक कृषि पेशामा निर्भर छन्।

“सिँचाइ अभावका कारण किसान वर्षाको पानीमा भर पर्न बाध्य छन्। चैते धान खेती गर्नसमेत कठिन भएको छ,” अध्यक्ष चौधरीले भने, “किसानले महँगो डिजेल प्रयोग गरेर खेतमा पानी तान्नुपर्ने अवस्था छ।”

स्थानीय किसान लखन चौधरीले प्रदेश र स्थानीय सरकारले पटक–पटक बजेट छुट्याए पनि काम अघि नबढ्दा योजना अलपत्र परेको गुनासो गरे। उनले समयमै आयोजना सम्पन्न भए किसानलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

निरीक्षण कार्यक्रममा राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.