नवजीवन सहकारीमा को-को भए निर्वाचित पदाधिकारी र सदस्य ?

धनगढी  : धनगढीको नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । निकटतम् प्रतिद्धन्द्धी केशवराज मिश्रको प्यानलाई क्लीन स्वीप गर्र्दै पाठक तीन सय १५ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।

पाठकले चार हजार ७८४ मत प्राप्त गर्दै चुनाव जित्दा प्रतिद्धन्द्ध मिश्रले चार हजार ४६९ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार घनबहादुर शाहले तीन हजार ६४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

चुनावमा पाठक, मिश्र र शाह प्यानलसहित प्रतिस्पर्धामा थिए । मिश्र प्यानल नै क्लीन स्वीप भएको छ भने शाह प्यानलका एक सदस्य मात्र विजयी भएका छन् ।

तीन सदस्य बाहेक अन्य पदमा पनि पाठक प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा उत्तम जोशी चार हजार ३०३ मतसहित विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ईश्वरप्रसाद जोशीले तीन हजार ९०४ र उपेन्द्र विष्टले तीन हजार १९५ मत पाएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा उनकै प्यानका गणेशप्रसाद जोशी पाँच हजार १७२ मत प्राप्त गर्दै विजयी भए । प्रतिद्धन्द्धी चेतराज जोशीले पाँच हजार ३३ मत पाएका छन् । सुपरीवेक्षण समितिको सदस्यमा खेमराज पाठक(६०४३) र गणेशप्रसाद पाध्याय(४५५९) विजयी भएका छन्। दुवै जना पाठक प्यानलका हुन् ।

कार्य समितिको ७ जना सदस्यमा पनि चार जना उनकै प्यानलका विजयी भएका छन् भने दुई स्वतन्त्र उम्मेदवार र एक जना घनबहादुर शाह प्यानलका छन् । सदस्यमा स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक पाँच हजार १४३ मत पाएर विजयी भएका छन् ।

यस्तै, पाठक प्यानलकी कोपिला कुुँवर(४११२), गणेश बम (३४२६), जयराज जोशी(३२८०) लक्ष्मीराज पन्त(३२७६) विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय(३१३२) र शाह प्यानलका दिर्घबहादुर शाह(३११८) पनि सदस्यमा विजयी भएका छन् ।

धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था देशकै अग्रिणी सहकारीमा पर्छ । कुल ४० हजार ८१४ शेयर सदस्य रहेको सहकारीको शनिबार भएको निर्वाचनमा १५ हजार २४१ मत खसेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.