अत्तरिया : युवा शसक्तिकरण समिति कैलालीको अध्यक्षमा सन्तोष सिंह नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश युवा परिषद्को युवा शसक्तिकरण समिति कैलालीको अध्यक्ष पदमा सिंह नियुक्त भएका हुन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सिंहलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।
नियुक्तिपत्र ग्रहणपछि अध्यक्ष सिंहले युवाको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक रुपान्तरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले जिल्ला भरिका युवालाई सीप, नेतृत्व, उद्यमशीलता तथा सामाजिक गतिविधिसँग जोड्दै युवामैत्री कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएका छन् । युवाको सहभागिता बिना समाज र राष्ट्रको समग्र विकास सम्भव नभएको उल्लेख गर्दै उनले युवालाई सकारात्मक दिशा दिन समिति प्रभावकारी ढंगले अघि बढाइने बताए ।
प्रदेश युवा परिषद्को मातहतमा रहने युवा शसक्तिकरण समितिले जिल्लामा युवा लक्षित कार्यक्रम सञ्चालन, नेतृत्व विकास, सचेतना अभिवृद्धि, रोजगार तथा स्वरोजगारसँग सम्बन्धित गतिविधि समन्वय गर्ने कार्य गर्नेछ ।