अल्टिमेटमपछि सुर्योदय सामुदायिक वनमा अतिक्रमण हटाउन अभियान

अत्तरिया  : कैलालीको गोदावरी गरपालिका ८ अन्तर्गत पर्ने सुर्योदय सामुदायिक वन क्षेत्रमा गरिएको अवैध अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले दिएको १५ दिने अल्टिमेटमपछि वन क्षेत्रमा बनाइएका अस्थायी संरचना हटाउन थालिएको हो ।

डिभिजन वन कार्यालय धनगढीको नेतृत्वमा सुरु गरिएको अभियान अन्तर्गत वन क्षेत्रमा निर्माण गरिएका टहरा तथा अस्थायी संरचनाहरू हटाइँदै छन् । वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुर को नेतृत्वमा खटिएको टोलीले अतिक्रमित क्षेत्र खाली गराउने कार्यलाई तीव्रता दिएको जनाएको छ ।

वन कार्यालयका अनुसार अतिक्रमण हटाएपछि उक्त क्षेत्रलाई पुनः हरियाली संरक्षण तथा वन व्यवस्थापनको दायरामा ल्याइनेछ । स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरेर वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाइने तयारी गरिएको छ ।

स्थानीयवासीले वन अतिक्रमणविरुद्ध सुरु गरिएको अभियानलाई सकारात्मक कदमका रूपमा लिएका छन् । वन क्षेत्रको संरक्षण, जैविक विविधताको रक्षा तथा दीर्घकालीन दिगो व्यवस्थापन सुनिश्चित गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिनुपर्ने उनीहरूको भनाइ छ ।

सम्बन्धित निकायले वन क्षेत्रमा हुने अवैध गतिविधिमाथि कानुनी कारबाहीलाई कडाइ गरिने स्पष्ट पारेका छन् । साथै वन सुरक्षालाई थप मजबुत बनाउँदै आगामी दिनमा अतिक्रमण हुन नदिने गरी निगरानी बढाइने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.