लम्कीचुहा अस्पताल विवादमा मेयर शुशीला शाहीको कडा प्रतिवाद
“राज्यमन्त्रीको अभिव्यक्ति भ्रामक, झुठा र षड्यन्त्रपूर्ण”
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर शुशीला शाहीले प्रादेशिक अस्पताल उद्घाटन कार्यक्रमका क्रममा सामाजिक विकास राज्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएकी छन्।
मेयर शाहीले बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास राज्यमन्त्री, सचिवलगायत केही व्यक्तिहरूले अस्पताल उद्घाटनको नाममा “नाटक मञ्चन” गरेको आरोप लगाएकी हुन्। उनले राज्यमन्त्रीको अभिव्यक्तिलाई “भ्रामक, कपोकल्पित, झुठा, आधारहीन र कसैको निर्देशनमा गरिएको तल्लो स्तरको टिप्पणी” भन्दै कडा शब्दमा आलोचना गरेकी छन्।
उनले महिला राज्यमन्त्रीबाट नै आफूविरुद्ध सार्वजनिक रूपमा गरिएको आरोपलाई “षड्यन्त्रपूर्ण प्रयास” को संज्ञा दिँदै यस्तो मानसिकता बोकेका व्यक्तिहरू सार्वजनिक पदमा बस्न अयोग्य हुने टिप्पणी गरेकी छन्।
मेयर शाहीका अनुसार, आफ्नै पहलमा वैशाख २१ गते सामाजिक विकास मन्त्रालयमा राज्यमन्त्रीको नेतृत्वमा बसेको बैठकले अस्पताल सम्बन्धी विवाद समाधानका लागि सर्वपक्षीय र सर्वस्वीकार्य समिति गठन गर्ने समझदारी गरेको थियो। तर, सो समझदारीलाई बेवास्ता गर्दै आफूले “आफ्नो अध्यक्षतामा समिति गठन गर्न खोजेको” भनेर जनतामाझ भ्रम फैलाइएको आरोप उनले लगाएकी छन्।
“मैले सर्वदलीय, सर्वपक्षीय र सर्वस्वीकार्य समिति निर्माणको प्रस्ताव राखेको हुँ, तर जनतालाई भ्रमित पार्ने उद्देश्यले मेरो नाम जोडेर गलत प्रचार गरिएको छ,” उनले भनेकी छन्। विदेशमा रहेको मौकामा सयौं प्रहरीको घेराभित्र अस्पतालको बोर्ड अनावरण गरिएकोप्रति पनि उनले प्रश्न उठाएकी छन्। “आफ्नै निर्वाचन क्षेत्रमा मुख्यमन्त्रीलाई त्यस्तो सुरक्षा घेरामा आउनुपर्ने अवस्था सिर्जना हुनु दुःखद र दयनीय विषय हो,” विज्ञप्तिमा उल्लेख छ।
मेयर शाहीले आफू आफ्नो पुरानै अडानमा कायम रहेको जनाउँदै नेपाल फर्किएपछि उक्त मुद्दामा न्यायका लागि निरन्तर संघर्ष गर्ने चेतावनी दिएकी छन्।