अत्तरिया : नेपाली जनताको दशकौँ लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको १९ औँ दिवस आज देशभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइँदैछ।
वि.सं. २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ।
तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा सम्पन्न ऐतिहासिक जनआन्दोलन तथा नेकपा (माओवादी) को सशस्त्र आन्दोलनको संयुक्त उपलब्धिका रूपमा मुलुकले गणतान्त्रिक शासन व्यवस्था प्राप्त गरेको हो।
गणतन्त्र स्थापनासँगै नेपाली जनताले नागरिक सर्वोच्चता, स्वतन्त्रता, समावेशी समानुपातिक लोकतन्त्र तथा सामाजिक न्यायको संवैधानिक अधिकार सुनिश्चित गरेका थिए।
गणतन्त्र दिवसलाई नेपाली जनताले वंशीय शासनमाथिको विजय तथा जनअधिकारको उत्सवका रूपमा समेत लिने गरेका छन्। लोकतान्त्रिक गणतन्त्रले जनतालाई राजनीतिक अधिकारको सुनिश्चिततासँगै समुन्नत राष्ट्र निर्माणको आधार तय गरेको विश्वास गरिएको छ। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षा तथा गरिबी निवारणजस्ता आधारभूत क्षेत्रमा जनअपेक्षा पूरा गर्नु गणतन्त्रको प्रमुख दायित्वका रूपमा रहेको विश्लेषण गरिन्छ।
यस वर्षको गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
समारोहमा लोकतन्त्र तथा गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिनुका साथै ऐतिहासिक आन्दोलन र परिवर्तनका अग्रणी व्यक्तित्वहरूको योगदानको स्मरण गरिने कार्यक्रम रहेको छ।
यस अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई नागरिक अधिकार, आर्थिक समृद्धि, सामाजिक न्याय र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको जीवनपद्धतिको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
गणतन्त्र स्थापना भएको दुई दशक नपुग्दै नेपालले संघीयता, समावेशिता र लोकतान्त्रिक अभ्यासमा महत्वपूर्ण उपलब्धि हासिल गरे पनि सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना र जनजीविकाका सवाल अझै चुनौतीका रूपमा रहेको विश्लेषकहरूको भनाइ छ।
गणतन्त्र दिवसले नेपाली जनतालाई लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन तथा समृद्ध नेपालको साझा लक्ष्यतर्फ थप एकजुट भएर अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ।